सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

सुन्धारामा बालकृष्णको सुस्केरा : राजनीतिमा यस्तै त रैछ...

प्रदीप ज्ञवालीलाई खाणको प्रश्न : हस्ताक्षर गर्ने तपाई बाहिर, म किन भित्र ?’
शुक्रबार, १५ भदौ २०८०, २० : २०
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । असार १ गतेपछि सुन्धारास्थित केन्द्रीय कारागारमा प्रत्येक दिनजसो राजनीतिक दलका नेता–कार्यकर्ताहरु पुग्ने गरेको पाइन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाण र एमाले सचिव टोपबहादुर रायमाझीलाई भेट्न सुन्धारामा राजनीतिकर्मीको लर्को लाग्ने गरेको पाइएको हो ।

पूर्वगृहमन्त्री खाण र पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ढाडस दिन शीर्ष नेताहरु सुन्धारा पुग्ने गरेका छन् । सुन्धारा कारागार पुग्नेमा कांग्रेसका नेताहरुको लाइन लामो छ । केन्द्रीय सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्री पनि अभियुक्त भेट्न कारागार पुगेका छन् ।

खाणलाई भेट्न कांग्रेसका प्रभावशाली नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, शेखर कोइरालासमेत सुन्धारा पुगे । यस्तै सह–महामन्त्रीहरु डिना उपाध्याय, महेन्द्र यादव, भिष्मराज आङदम्बे, किशोरसिंह राठौर, शंकर भण्डारी, हृदयराम थानी, उदयशम्शेर राणा, जितजंग बस्नेत, नागिना यादवलगायत पनि खाणलाई भेट्न पुगेका थिए ।

राजकीय पदमा रहेकाहरु परराष्ट्रमन्त्री एनपी साउद, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि खाणलाई भेट्न सुन्धारा पुगेको देखिन्छ । कांग्रेसबाट सरदर दैनिक दुई दर्जन नेता–कार्यकर्ता खाणलाई भेट्न पुगेको दुई महिनाको सूची हेर्दा देखिन्छ ।

भेटघाट गर्नेमा तरुण दल र नेविसंघ केन्द्रीय सदस्यहरु बढी छन् । खाण नेविसंघ र तरुण दलका पूर्व अध्यक्ष हुन् । पछिल्लो समय नेविसंघ र तरुण दलको कमिटी विस्तार भएपछि केन्द्रीय सदस्य भइरहेकाहरु खाण भेट्न सुन्धारा पुगेको देखिन्छ । कांग्रेसका अलावा जसपा अध्यक्ष उपेन्द्र यादवले पनि खाणसँग भेटेका थिए । 

सुन्धारा पुग्ने नेताको सूचीमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादीका केन्द्रका सचिव देवेन्द्र पौडेलको पनि नाम छ । उनीहरुले रायमाझी र खाण दुबैलाई भेटेका थिए । रातोपाटीकर्मी सुन्धारा कारागार पुग्दा विहीवार पनि खाण कार्यकर्तासँगको भेटघाटमै व्यस्त थिए । हातमा रक्षाबन्धन र राखी दुबै बाँधेका उनी चमेनागृह नजिकैको चौतारीमा कार्यकर्तासँग गफिईरहेका थिए ।

खाणको छेउमा नरेन्द्र केसी बसिरहेका थिए । खाण गृहमन्त्री हुँदा केसी स्वकीय सचिव थिए । उनी पनि भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । खाणले आफ्नो अगाडि भुटानी शरणार्थी समस्या समाधानसम्बन्धी गृहमन्त्रालयबाट भए गरेका निर्णयको कपी राखेका हुन्छन् । भेट्न आउनेलाई उनले उक्त कपी पल्टाउँदै आफू निर्दोष रहेको सुनाउँछन् ।

केही दिनअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई खाणले गृहका निर्णयको कपीको पहिलो पेजको निर्णय देखाएर प्रश्न राखे । कपिको पहिलो पानामा भुटानी शरणार्थीहरुको समस्यालाई समाधानको विकल्पसहित मन्त्रिपरिषदमा सिफारिस पठाउँदा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहसचिव प्रेम राईलगायत ६ जनाको हस्ताक्षर छ ।

उक्त हस्ताक्षर देखाउँदै खाणले सुन्धारा पुगेका ज्ञवालीलाई ‘यो कामको सुरुवात गर्दा हस्ताक्षर गर्ने तपाई बाहिर हुनुहुन्छ । म थुनामा पर्नुपर्ने ?’ भनेर प्रश्न गरेका थिए । राजनीतिमा विभिन्न उचारचढाव आइरहने भन्दै चिन्ता नलिन खाणलाई ज्ञवालीको आग्रह थियो । 

रातोपाटीसँग पनि खाणले तत्कालीन गृहमन्त्री बादल जोगिँदा आफू पक्राउ पर्नुको कारण नरहेको सुनाए । उनले भने, ‘यो सबै अगाडि बढाउने बादलजी बाहिर हुनुहुन्छ । उहाँको परिवारै यसमा जोडिएको थियो । तत्कालीन गृहसचिव बाहिर हुनुहुन्छ । तर, मलाई मात्र पक्राउ पूर्जीसमेत नदिएर समात्ने काम भयो ।’

नाम पोलेकै भरमा थुन्ने काम भएको उनको गुनासो थियो । त्यसो त भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम पनि पोलेको छन् ।

‘म विरुद्ध किटानी जाहेरी पनि परेको छैन । कसैले नाम पनि पोलेको छैन । तर, यहाँ थुनामा बस्नु परेको छ,’ खाणले भने । कपिको चार पन्नामा बादलको पालामा भएका निर्णय र बाँकी चार पन्नामा खाणको पालामा भएका निर्णय उल्लेख छन् ।

कांग्रेस नेताप्रति खाणको गुनासो 

खाणलाई भेट्न पुगेका सबैजसो कांग्रेस नेताहरु ‘तपाईलाई यहाँ देख्दा म साह्रै दुःखी छु’ भन्छन् । सुन्धारा पुग्ने सबै नेताहरु ‘तपाईलाई छुटाउन हामी पहल गर्छौ’ भनेर ढाडस दिन पनि कसैले बाँकी राख्दैनन् । 

तर, उनीहरुप्रति खाणले गुनासो पोको फुकाउँछन् । कांग्रेसभित्र आफ्नो पक्ष र विपक्षमा उभिने नेताहरुले भुटानी शरणार्थी प्रकरण नै नबुझेको उनको भनाइ छ । 

‘यो प्रकरणको सबै कुरा मैले पनि यहाँ आएपछि थाहा पाउँदैछु । हाम्रो पार्टीका साथीहरुले यसबारे बुझेर बोल्नु भएको छैन । सहयोग गर्छु भन्नुहुन्छ । नबुझी के सहयोग गर्नुहुन्छ । पहिले त यो बुझ्नुप¥यो,’ उनी भन्छन् । भुटानी शरणार्थी प्रकरण नबुझेर फाइल अगाडि अगाडि बढाइएको उनको भनाइ छ । 

‘मेरो पालामा एकजना पनि गएको छैन । यदि, मलाई यो थाहा भएको भए काम रोकिदिन्थेँ । यस्तो होला भन्ने थाहा भएन,’ खाण भन्छन् । यस्तै कांग्रेस सम्मिलित सरकारले नै आफूमाथि ज्यादतीपूर्ण ढंगले गिरफ्तार गर्दा पनि पार्टीले केही नगरेको खाणको गुनासो छ ।

‘मेरो केसमा पार्टीले भ्रम चिरिदिन कुनै काम गरेन । नेताहरु यहाँ आएर हामी लागेका छौं भन्छन्, के लाग्नुहुन्छ ?,’ उनको प्रश्न छ । पार्टीबाट कानुनी र राजनीतिक लडाइँमा साथ नपाएको उनले गुनासो गरे । 

‘मेरो केसमा पार्टीले प्रस्ट पारिदिओस् । निर्दोष हो भन्ने राजनीतिक र कानुनी रुपमा मुद्दाको नेतृत्व लिनुप¥यो । म दोषी हो भन्ने पार्टीको बुझाइ हो भने अर्को कुरा भयो,’ उनी भन्छन् । 

कुराकानीका क्रममा खाणले आफूबारे कांग्रेसमा देखिएको ध्रुवीकरणलाई पनि सुन्धारा कारागार भित्रबाट नियालीरहेको पाइयो । महामन्त्री गगन थापा बाहेकका नेताहरु विरुद्धमा नरहेको खाणलाई रिपोर्टिङ गरिएको जस्तो पाइयो । 

कांग्रेस सह–महामन्त्री महेन्द्र यादव दिनहुँजसो राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक गतिविधिबारे खाणलाई ब्रिफिङ गर्न कारागार पुग्ने गर्छन् । 

शेखर कोइरालासमेत भेट्न पुगेपछि आफूविरुद्ध पार्टीभित्र देखिएको आवाज मसिनो भएको उनको बुझाइ छ । पंक्तिकारसँग पनि खाणले आफ्नो बाहिरी माहोलबारे जिज्ञासा राखेका थिए ।

कांग्रेस नेताहरु शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले खाणलाई आफ्नो तर्फबाट ‘सकेको गर्ने’ बचन दिएका छन् । कांग्रेस नेताहरुले अदालतबाट न्याय दिलाउने गरी पार्टीले रणनीतिक रुपमा काम गरिरहेको खाणलाई सुनाउँछन् । भेट्न पुगेका नेताहरुको आश्वासनबाट खाण आश्वस्त भने छैनन् ।

जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग राखी खाणसहितका प्रतिवादीले उच्च  अदालत पाटनमा रिट दायर गरेका छन् । उनीहरु उच्च अदालत पाटनको फैसलाको प्रतिक्षामा छन् ।

आफूलाई भेट्ने नेताहरुसँग खाणले ‘राजनीतिमा यस्तै रहेछ । यस्तो दिन पनि भोग्नुपर्दो रहेछ’ भनेर लामो स्वास फेर्छन् । जेलभित्र पनि उनको हक्की स्वभावमा परिवर्तन आएको छैन । कार्यकर्तासँग बोल्ने शैली उनको उस्तै छ । तर, अनुहारको चमक भने हराइसकेको छ ।

उपेन्द्रको चासो

थुनामा रहेका खाणले जसपा अध्यक्ष उपेन्द्र यादवको चासो राखेका थिए । यादवले खाणसँग सरकारले गौरहत्या काण्डको फाइल अगाडि बढाएर आफूलाई फसाउन खोजेको बताएका थिए । कुराकानीका क्रममा उनले ‘उपेन्द्रजीको के छ ?’ भनेर जिज्ञासा राखेका थिए । यादव करिब दुई सातादेखि भारतमा रहेका छन् ।

गौरहत्या काण्डको अनुसन्धान गर्न गृह मन्त्रालयलाई रौतहट जिल्लामा परिपत्र गरेपछि यादव ‘भूमिगत’ जस्तै अवस्थामा छन् । यादवबारे पछिल्लो अवस्थाबारे बताएपछि खाणले ‘ए, हो र...’ भन्दै आश्चर्य प्रकट गरेका थिए । 

साउनको अन्तिम साता सुन्धारा कारागार पुगेका यादवले खाणलाई फसाइयो भन्दै सरकारको विरोध गरेका थिए । खाणसँगको भेटमा पनि लोकरिझ्याईको लोभमा नेताहरुलाई थुन्ने काम भएको भन्दै यादव गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप