शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

प्रचण्डलाई ज्ञवालीको प्रश्न : प्रचण्डज्यू फेरि जनअदालतको अभ्यास थाल्नुभएको हो ?

शनिबार, १६ भदौ २०८०, १४ : ५१
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भ्रष्टाचारीलाई सुनपानी छर्केर चोख्याउने अभियानमा लागेको आरोप लगाएका छन् ।

बुटवलमा शनिबारदेखि सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले विकास निर्माणका कामहरू ठप्प भएको भन्दै मुलुक आर्थिक सङ्कटको बीचमा रहेका बेला प्रधानमन्त्री नै अस्थिरताको खेतीमा व्यस्त भएको बताए । उनले प्रधानमन्त्रीले जातीय विद्वेषको आगो लगाउने काममा लागिरहेको बताए । उनले भने,‘प्रधानमन्त्री अहिले निकै ठुलो दम्भ गरिरहनुभएको छ । म यो अभियानलाई ज्यान गए पनि छोड्दिन सत्ताबाट हट्नुपरे पनि हटौला, तर यो सबै पाखण्डका रुपामा देखापरेका हुन् ।’ 

उनले ललिता निवास प्रकरणमा टिप्पणी उठाउने खरदारलाई जेल कोच्ने तर निर्णय गर्नेलाई सरकारले छुट दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘उहाँले हिजो भन्दै हुनहुन्थ्यो मेरो ठुलो टेन्सन सकियो,माधव नेपालजीको पनि टेन्सन सकियो’, उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भने, ‘ए पुष्पकमल दाहाल प्रचण्डज्य ? तपाईंले फेरि जनअदालतको अभ्यास गर्न थाल्नुभएको हो ? नेपालको अदालतले त त्यस्तो भन्दैन । ’उनले आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेर विपक्षीलाई मात्रै आक्रमण प्रयास गरेको आरोप लगाए । 

कार्यक्रममा सचिव गोकर्ण विष्टले एमालेमा गुट बनाउने छुट कसैलाई नरहेको बताए । उनले लुम्बिनीमा गुटको राजनीति मौलाएकोतर्फ इङ्गित गर्दै भने, ‘एमालेका दुई नेताको विवादलाई जोडेर मिडियामा आयो, एमालेका आम कार्यकर्तामाथि यो विश्वास हुने कुरा हुँदैन । पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यो देशवासीमाथि बेइमानी हुनेछ, कार्यकर्ताले एकता खोजेको छ, कुनै समूह खोजेको छ, यसमा कसैलाई छुट हुनेछैन ।’ 

अर्का सचिव पद्मा अर्यालले एमालेलाई कमजोर बनाउन प्रोपोगाण्डा मच्चाएको भन्दै यसबाट एमाले नडराउने बताइन् । ‘एमालेको लालकिल्ला लुम्बिनीमा पार्टीलाई कमजोर बनाउन यस्तो प्रोपोगाण्डा गरिएको छ, यसबाट हामीहरू विचलित हुँदैनौँ,’ उनले भनिन्, ‘प्रदेशमा एमाले विरुद्ध सबै शक्ति लाग्दा पहिलो शक्ति बनेको छ, यसबाट एमाले र यसमा आस्थावान् कार्यकर्ता विचलित हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप