शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

निरन्तर पछारिएको माओवादी उठ्ने तर्खरमा

पहिलो संविधानसभाको निर्वाचनमा पहिलो नम्बर बनेको माओवादी अहिले राप्रपाभन्दा पछाडि
शनिबार, १६ भदौ २०८०, १८ : ४३
शनिबार, १६ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा र मोरङ राजनीतिको केन्द्र छ । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि झापा र मोरङ राजनीतिको केन्द्रमै थियो । किनकी मोरङमा काँग्रेसका नेताहरु विपी कोइरालादेखि त्यसबेलाका काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको जिल्ला थियो । झापामा पनि त्यसबेला एमालेका केपी शर्मा ओली देखि काँग्रेका कृष्णप्रसाद सिटौला चर्चित नेता थिए । 

भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीले शान्तिपूर्ण राजनीति वा संसदीय राजनीतिको खासै मेलो पाएको थिएन । तर, ०६४ सालको निर्वाचनमा माओवादीका  फुच्चेफाच्चे नेताहरुले तिनै संसदीय राजनीतिका बढेबढे खेलाडीहरुलाई पछारिदिए । ०६४ सालको निर्वाचनमा झापाका ७ निर्वाचन क्षेत्रमध्ये ५ वटामा माओवादीका उम्मेद्वार विजयी भए । हालका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीका सामान्य कार्यकर्ता विश्वदिप लिङ्देनले हराइदिए । काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई माओवादीका नामै नसुनेका पूर्णसिंह राजवंशीले हराइदिए । यस्तै काँग्रेसको उद्गम थलो मोरङको ९ निर्वाचन क्षेत्रमध्ये ४ वटामा माओवादीले जित निकाल्यो । गिरिजाप्रसाद कोइरालाको गृहजिल्लामै माओवादीको हमला सानो थिएन । 

01.09.2023_17.38.46_REC

यस्तै धनकुटा, भोजपुर, सोलुखुम्बु्, खोटाङ, ओखलढुंगामा माओवादीले एकल जित निकालेको माओवादीले उदयपुरको ३ निर्वाचन क्षेत्रमध्ये २ निर्वाचन क्षेत्रमा जित निकालेको थियो । सुनसरीको ६ निर्वाचन क्षेत्रमध्ये १ वटा मात्रै जितेको माओवादीले संखुवासभाको १ क्षेत्र जितेको थियो ।

तर, माओदीको यो विजयीयात्रा ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा टिक्न सकेन । ०७० सालको निर्वाचनमा माओवादी आकाशबाट पातालमा झर्यो । ०७० सालमा माओवादीले कोशी प्रदेशका हाल कायम १४ जिल्लाका ४४ निर्वाचन क्षेत्रमध्ये एउटा निर्वाचन क्षेत्र मोरङको क्षेत्र नम्बर ४ बाट मात्रै विजयी भयो । अघिल्लो निर्वाचनमा एमाले र काँग्रेसका बडेमानका नेताहरु पराजित गरेको भएपनि ०७० सालको निर्वाचनमा भने माओवादीकै बडेमानका नेताहरु पराजित बने ।

प्रदेश संरचनाको कार्यान्वयन सहित भएको पहिलो निर्वाचनमा ०७४ सालमा एमालेसँग गठबन्धन गरेर चुनाव लडेको माओवादीले प्रदेशमा समानुपातिक मत २ लाख ६ हजार ७८१ मत मात्रै ल्यायो । एमालेले सबैभन्दा बढी ६ लाख ७३ हजार ७०९ र काँग्रेसले ५ लाख ८६ हजार २४६ मत ल्याएको थियो । राप्रपाले त्यसबेला ५७ हजार ३४२ मत मात्रै ल्याएको थियो । प्रत्यक्षमा १० र समानुपातिकतर्फ माओवादीले ७ वटा सिट जितेको थियो । 

22

कोशी प्रदेशमा माओवादीको साइज ०७९ सालको निर्वाचनमा अझै घट्यो । समानुपातिक मतमा माओवादीभन्दा धेरै तल रहेको राप्रपा तेस्रो स्थानमा उक्लियो र माओवादी चौथोमा झर्यो । काँग्रेससँग गठबन्धन गरेर चुनावी मैदानमा होमिएको माओवादीले ७४ सालको भन्दा प्रत्यक्षतर्फ १ वटा कम ९ वटा निर्वाचन क्षेत्रमा विजयी हासिल गर्यो । यसअगाडि समानुपातिक तर्फ ७ वटा सिट जितेको माओवादीले ०७९ सालको निर्वाचनमा भने ४ वटा मात्रै सिट जित्न सफल भयो । अघिल्लो पटक १ सिट समानुपातिक जितेको राप्रपाले ४ सिट जित्यो । अघिल्लो निर्वाचनमा २ लाख ६ हजार समानुपातिक मत ल्याएको माओवादीले ०७९ सालमा भने १ लाख ८१ हजार २४५ मत मात्रै ल्यायो । राप्रपाले भने १ लाख ९८ हजार ५११ मत ल्याउँदा काँग्रेसले ५ लाख ६२ हजार ९५६ र एमालेले ६ लाख ६५ हजार ४६० मत ल्याएको छ ।

माओवादीको यो निरन्तरको ओरालो यात्राको अन्तिम विन्दु कुन हो भन्न सकिँदैन । तर, यस्तै अवस्था रहे दुईचारवटा निर्वाचन पछि माओवादी केन्द्र ‘अस्तित्वमा रहेको तर, नदेखिएको’ अवस्थामा हुनसक्छ ।

333

त्यही कुरालाई मध्यनजर गर्दै माओवादीले आफ्नो क्षयीकरण रोक्न र पुनः ०६४ सालमा कमब्याक गर्न भन्दै तीन महिने अभियान सुरु गरेको छ । उक्त अभियानले पुराना २५ लाख मतदातासँग अन्तरक्रिया गर्ने र पुरानै अवस्थामा माओवादीलाई फर्काउने अपेक्षा उनीहरुले गरेका छन् । ‘केही जिल्लाहरु अहिले पनि सांगठनिक हिसावले ठिकै मानिएको छ । केही जिल्लामा खस्किएको स्थिति हो,’ माओवादीका पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव)ले भने, ‘हाम्रो पार्टीमा विभाजन हुँदा अलि लाइन लिडरसिप सम्बन्धी विभिन्न बुझाइहरु रहे । त्यसले गर्दा हाम्रो भत्केको र भड्कोको अवस्था रहेछ । त्यसकारण हामीले पहिलो कुरा लाइन क्लियर गर्नुपर्ने देखियो ।’

उनले पुराना माओवादीहरु एक भएर परिवर्तनका लागि लडेका आन्दोलनरत पक्ष र समर्थकलाई एक ठाउँमा ल्याउन सके माओवादी पुरानै अवस्थामा आउने दाबी गरे । ‘एक पटक माओवादी भएर परिवर्तनको लागि लडेका आन्दोलनरत र समर्थक, शुभचिन्तकलाई एक ठाउँमा ल्याउन सकियो भने माओवादी पुरानो ठाउँमै आउन सक्ने अवस्था देखे,’ खनालले भने, ‘अहिले चाहिं खस्केकै रहेछ । त्यो चाहिं देशैभरी पारेको प्रभाव पनि हो । पूर्वलाई मात्रै दोष दिनुपनि हुँदैन । अन्यत्र पनि त्यही अवस्था हो । तर, जे होस् हामीले फेरि पुरानो ठाउँमा फर्काउनलाई मेहनत गर्र्नैपर्ने देखिन्छ ।’

माओवादी केन्द्रको नेतृत्वमा केन्द्रीय सरकार संचालित छ । सरकारले गरेका भ्रष्टाचार र सुशासनको पक्षमा माहोल बनाउँदै संगठन बनाउने उसको तयारी छ । तर, कोशी प्रदेशमा नामकरणको विषयले माओवादीलाई समस्यामा पारिरहेको छ । किनकी माओवादी केन्द्रले पनि कोशीकै पक्षमा मतदान गरेको छ । यस्तै प्रदेशको सत्ता राजनीतिमा माओवादीको भूमिकालाई लिएर पनि आलोचना हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप