सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुझावका तीन प्रश्न लिएर अभियानमा होमिए मन्त्री किराती

आइतबार, १७ भदौ २०८०, १६ : ४९
आइतबार, १७ भदौ २०८०

विराटनगर । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा माओवादी केन्द्रको तीन महिने अभियानमा मोरङ, बेलबारी–३ को जिम्मा पाएका छन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ।

माओवादीका केन्द्रीय सदस्यसमेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे । अन्य माओवादी नेताको भन्दा उनको अभियानको शैली भने फरक देखियो । अभियानमा उनी  जनताबाट सुझाव संकलन गर्न भन्दै तीन प्रश्न समेटिएको ‘सुझाव पत्र’ वितरण गर्छन् ।

विगतमा सरकारमा पु¥याउन भोट मागेको र जनताले भोट दिएका कारण सरकारमा पुगेको भन्दै मन्त्री किरातीले अब सरकारले गर्नुपर्ने काम पनि जनताकै सुझावका आधारमा हुनुपर्ने बताउँछन् । सुझाव पत्र बाँड्दै मन्त्री किरातीले भने, ‘चुनावको बेला हामीले तपाईहरुसँग भोट दिनुहोस्, सरकारमा पुगेर सेवा गर्छौं भनेका थियौँ । तपाईंहरुले भोट दिनु भयो, हामी सरकारमा पुगेका छौँ, मन्त्री भएका छौँ । अब तपाईहरुले लिखित रुपमा भन्नु प¥यो कि हामीले के गर्नु पर्छ ? सरकारले के गर्नु पर्छ ? हामी तपाईंहरुको सुझाव अनुसार नै काम गर्ने छौँ ।’ काठमाडौंबाटै सुझाव पत्रसहित कार्यक्षेत्र पुगेका उनले मुख्यगरी तीन विषयमा सुझाव संकलन गर्न खोजेका छन् ।

मन्त्री किरातीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा जारी भ्रष्टाचार विरुद्धको अभियानबारे जनताको धारणा र सुशासनको सन्दर्भमा सरकारले गर्नुपर्ने बाँकी कामबारे पहिलो बुँदामार्फत सुझाव संकलन गर्न खोजेका छन् । ‘भ्रष्टाचार विरुद्धको अभियानको राम्रो पक्ष र कमीकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?’ भन्दै मन्त्री किरातीले माओवादी नेतृत्वको सरकारको कामको जनताबाट समीक्षा गराउने कोसिस गरेका छन् ।

उनले सुझाव पत्रमार्फत आफू नेतत्वको मन्त्रालयसँगै अन्य विकासे मन्त्रालयहरुले गरिरहेको काम र गर्नुपर्ने कामको विषयमा समेत जनतासँग समीक्षा र सुझाव मागेका छन् । सुझावका प्रश्नहरुको २ नम्बर बुँदामा उनले लेखेका छन्, ‘हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, उड्डयन, सडक, जलविद्युत लगायत महत्त्वपूर्ण विषयमा के–के काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी के–के देख्नुभएको छ ?’

त्यसैगरी, तेस्रो बुँदामार्फत मन्त्री किरातीले नेपालका राजनीतिक दल र आफ्नो पार्टीको अवस्थाबारे जनतासँग सुझाव लिने प्रयास गरेका छन् । उनले जनतासँग भनेका छन्, ‘नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भूमिकामा भएको बलियो पक्ष र कमज‍ोरीहरु के–के देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? के–के कुरा सच्याउनुपर्छ ?’

Sudan (3)

टोलका सबै जनतासँग सुझाव लिने, चोक चोकबाट संकलन गर्ने

अभियानका क्रममा करिब पाँच हजार जनतासँग सुझाव लिने मन्त्री किरातीको योजना  छ । किरातीको जिम्मेजारी परेको बेलबारी नगरको ३ नम्बर वडामा पाँच हजारभन्दा धेरै मतदाता छन् ।

सुझाव संकलन गर्न तयार पारिएको सुझाव पत्रमा उत्तर लेख्न खाली ठाउँ राखिएको छ । मन्त्री किरातीका अनुसार अभियानका क्रममा नेता कार्यकर्ताले उक्त सुझाव पत्र हरेक जनताको हातमा पु¥याउने छन् । र, जनताले सोही पत्रमा सुझाव लेख्ने छन् । जनताले लेखेको सुझाव संकलन गर्न मन्त्री किराती आफैँ वडाको चोक चोकमा पुग्ने छन् ।

जनतासँग लिएको सुझावलाई केन्द्रित गरेर सार्वजनिक गर्दै प्राथमिकीकरणका आधारमा कार्यान्वयन गर्ने मन्त्री किरातीको योजना छ । उनले भने, ‘त्यसै सुझाव लिन लागिएको होइन । हामी साँच्चिकै जनताको चाहना अनुसार काम गर्छौं । उहाँहरुले दिनु भएको सुझावलाई प्राथमिकीकरणका आधारमा कार्यान्वयन गर्ने योजना छ ।’

शनिबारदेखि देशैभर माओवादीको अभियान सुरु भएको छ । सबै वडामा औपचारिक कार्यक्रम गरेर अभियान प्रारम्भ भएको जानकारी गराइएको छ । अभियान प्रारम्भ हुनु अघि नै धेरै नेता तोकिएका वडामा पुगेर जनतासँग पुरानै शैलीमा भेटघाटमा व्यस्त छन् । तर, जनतासँग लिखित रुपमै सुझाव माग्ने काम कम्तीमा पनि माओवादीका लागि पहिलो र नौलो अभ्यास हो ।

यसअघि पनि माओवादीले विभिन्न चरणमा अभियान सञ्चालन गरेको थियो । माओवादीका नेता कार्यकर्ता हुल बाँधेर देउसी खेलेझैँ जनताको घर पुगेर फर्कन्थे ।  मन्त्री किरातीले भने, ‘विगतमा मैले पनि त्यसै गरेको थिएँ तर अब त्यसो गरेर हुँदैन । जनतासँग स्वार्थी काम गरेर हुँदैन । जनताको कुरा सुनेर जनताकै लागि काम गर्नु नै सबैभन्दा राम्रो काम हो ।’

प्रचण्ड सरकारको क्रियाशील मन्त्रीको छवि बनाएका मन्त्री किराती १६ गते बिहानैदेखि भेटघाट तथा सामाजिक कार्यमा जुटेका थिए । शनिबार मन्त्री किरातीले बेलबारी पुगेर बेलबारी बहुमुखी क्याम्पस लगायत धार्मिक तथा सांस्कृतिक सम्पदाहरुमा बिहानै वृक्षरोपण गरे भने दिउँसो अभियान घोषणा कार्यक्रममा सहभागी भए ।

मन्त्री किरातीले सुझाव संकलनका लागि तयार पारेका प्रश्नहरू

१. देशको लागि भ्रष्टाचार एउटा महारोग बनेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कठोर र साहसिक काम सुरु गरेको छ । यो काममा राम्रो पक्ष र कमी कमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?


२. हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, हवाइजहाज (उड्डयन) सडक, जलविद्युत् लगायत महत्त्वपूर्ण विषयमा के–के काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी के–के देख्नुभएको छ ? 

३. नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भूमिकामा भएको बलियो पक्ष र कमज‍ोरीहरु के–के देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? के–के कुरा सच्याउनुपर्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप