सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

३ वटा विमान किन्ने सरकारको तयारी : मन्त्री किराँती

आइतबार, १७ भदौ २०८०, १९ : ४७
आइतबार, १७ भदौ २०८०

विराटनगर । सरकारले आफ्नै खर्चमा थप ३ वटा जहाज किन्ने अन्तिम तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले बताएका छन् । देशभरका २२ वटा विमानस्थल खाली रहेको बताउँदै त्यस्ता एयरपोर्टलाई व्यावसायिक ढंगले सञ्चालन गर्न सरकारले जहाज किन्ने उनले बताए । 

विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यहाँ नाफा चाहिँ हुँदैन । राष्ट्रिय ध्वजाबाहकको उत्तरदायित्व मात्रै हो । घाटा हुन्छ । घाटा भएपनि राज्यले जनतालाई सुविधा दिनुपर्छ,’ किराँतीले भने, ‘वर्षौं अगाडिदेखि ग्राउण्डेड भएको एउटा जहाज रहेछ । त्यो अब एक डेढ महिनाभित्र बन्दैछ । त्यसपछि हामीसँग तीनवटा हुन्छ । दुर्गममा जाने गरी थप ३ वटा जहाज किन्ने अन्तिम तयारीमा हामी पुगेका छौं ।’

साथै, सरकारले अरबौंको लगानीमा निर्माण गरिएको लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा सञ्चालन गर्ने तयारी गरेको पनि उनले बताए । 

दुई विमानस्थलको व्यावसायिक सञ्चालनका लागि पीपीपी मोडलमा जानुपर्ने मन्त्री किराँतीले बताएका हुन् । त्यसका लागि नागरिक उड्डययन प्राधिकरणबाट निर्णय गरेर मन्त्रालयमा पठाउने तयारी भएको पनि उनले खुलाए । 

उनले भने, ‘यी दुई विमानस्थललाई व्यावसायिक प्रयोजनमा ल्याउन पीपीपी मोडलमा जानुपर्छ भन्ने मेरो विचार छ ।  छिट्टै नागरिक उड्डयन प्राधिकरणबाट निर्णय गरेर मन्त्रालय हुँदै क्याबिनेटमा लाने तयारी भइरहेको छ ।’

उनले भने, ‘गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल अरबौं लगानी गरेर बनाइएको हो । यसलाई सञ्चालन गर्नुपर्ने दायित्व छ । हाम्रो लेबलमा कुटनीतिक पहल भइरहेको छ र भारत भ्रमणमा जाँदा पनि प्रधानमन्त्रीज्यूले हवाई रुटको विषयमा कुरा गर्नुभएको छ । प्रधानमन्त्रीज्यू लगत्तै चीन भ्रमणमा जाँदा पनि त्यो स्तरको छलफल हुन्छ ।’

किराँतीले अन्तरप्रदेश उडान नहुनुको कारण सरकारी जहाज नहुनु रहेको बताए । ‘सरकारी जहाज नभएको हुनाले बजारमा हस्तक्षेप बढाउन सकिएको छैन । तर, अब अन्तरप्रादेशिक उडान गर्ने हो,’ किराँतीले भने । 

उनले हिजो राजनीतिक प्रेसरको कारणले एउटा जिल्लामा ३ वटासम्म विमानस्थल बनेको भन्दै अब आवश्यकताका आधारमा मात्रै विमानस्थल बन्ने बताए । 

‘भन्दा मान्छेलाई रिस उठ्छ । तर, विराटनगरमा यत्रो एयरपोर्ट छ, धरानमा अर्को एयरपोर्ट चल्छ जस्तो मलाई लाग्दैन । यति नजिक–नजिक एयरपोर्ट बनाएर हामी के गर्न खोज्दैछौं । यो बसस्टेण्ड हो र ? अरबौं खर्च गरेर एयरपोर्ट बनाउने अनि गाई चराउने त हुन सक्दैन,’ उनले भने, ‘बरु ८ लेनको रोड बनाए आधा घण्टामा धरानबाट विराटनगर आउने वातावरण बनाउनु पर्छ । बरु विराटनगरको विमानस्थल विस्तार गर्ने तिर लाग्नुपर्छ ।’

उनले काठमाडौँको सिण्डिकेटलाई तोड्नकै लागि विराटनगर, पोखरामा जहाज बास बस्नुपर्ने भनेर निर्णय गरिएको स्मरण गरे । 

अर्को प्रसगंमा, उनले ४६ सालपछि यति राम्रो काम गर्ने यो पहिलो सरकार भएको दाबी गरे । यही गठबन्धनको सरकार ५ वर्ष टिक्ने बताउँदै सहमतिलाई अक्षरस पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप