बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गोर्खा सैनिकलाई बेलायत सरकारले समान व्यवहार गरेन : प्रधानमन्त्री

मङ्गलबार, १९ भदौ २०८०, १८ : २५
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकलाई बेलायत सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित पूर्वगोर्खा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोर्खालीहरूलाई सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका हुन् । 

उनले यो विषय सबै नेपालीहरूको लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको उल्लेख गरे । उनले गोर्खालीहरूले ब्रिटिस राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले सरकारले अहिले भारत र बेलायतसँग यस बारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको बताए । 

प्रधानमन्त्री दाहालले भने, ‘यो हामी सबै नेपाली र नेपालको चासोको विषय हो । गोर्खालीहरूले ब्रिटिस राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे तर ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा जे जति विद्यमान छ, त्यो सिङ्गो देशको सरोकार र दायित्वको विषय हो । अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले समान व्यवहार र श्रमको उचित मूल्य र जुन स्तरको आत्मसम्मान हो त्यो पाउन सकेका छैनन् । भूतपूर्व गोर्खा सैनिकको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्न सक्ने मुद्दा नभएर द्वि एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्दा हो ।’

प्रधानमन्त्री दाहालले गोर्खा सैनिकको समस्या समाधानका लागि सरकार जिम्मेवारपूर्ण ढंगले अभिभावकत्व प्रदान गर्ने बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा जाँदा सम्बन्धित पक्ष र देशसँग गोर्खा सैनिकको मुद्दाका बारेमा गम्भीर रूपमा प्रश्न उठाउने गरेको जिकिर गरे । नेपाल—भारत—बेलायतबीच भएको त्रिपक्षीय सन्धिमा गोर्खाहरूमाथि २०८ वर्षदेखि समान व्यवहार नभएको कुरालाई समान कामको समान ज्याला दिलाउन काम गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप