शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : श्रीकृष्ण जन्माष्टमी

श्रीकृष्ण र वास्तुको सम्बन्ध कति ?

बुधबार, २० भदौ २०८०, १४ : २९
बुधबार, २० भदौ २०८०

आज श्री कृष्णाष्टमी । भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको दिन । हिन्दू सनातनीले भगवान् कृष्णको गुण र स्वभावबाट लाभ लिने दिन जसलाई कृष्ण जन्माष्टमी पनि भन्ने गरिन्छ । सनातनीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–आराधना तथा भजन–कीर्तन गर्दै महिला व्रत बस्ने गर्छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्दै कर्ममा उत्प्रेरित गर्ने भगवान् श्रीकृष्णको प्रवृत्ति अगाँल्दा मोक्षको मार्ग भेटिन्छ भन्ने जनविश्वास छ । पुतना, कंश, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका कृष्णले मन पराउने गरेका केही वस्तु जुन वास्तुसम्मत रहेका छन् । उनले प्रयोग गर्ने गरेका भनिएका सामग्रीलाई घरमा राख्दा वास्तुदोष शमन हुन्छ भन्ने विश्वास छ । 

श्रीकृष्णको सबैभन्दा प्यारो वस्तु हो बाँसुरी । बाँसुरीको धुनमा नरमाउने को होला र ? बाँसुरीमा भएका प्वालको सही संयोजनले सुमधुर ध्वनि निस्कन्छ । ज्योतिष तथा वास्तुशास्त्रमा बाँसुरीलाई वास्तुदोष परिहार गर्ने महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ । बाँसुरीको प्रयोगले घरको नकारात्मक ऊर्जा कम गर्छ । घरको वातावरण शान्त र आनन्दित बनाउन हरेक घरमा बाँसुरी राख्नु शुभ मानिन्छ । कुनै पनि कार्य सम्पन्न भएपछि भगवान् कृष्णले बाँसुरी बजाएर रमाउने गर्थे भन्ने मान्यता छ । यसको अर्थ बाँसुरी आनन्द र शान्तिको प्रतीक हो । बाँसुरी हुने घरमा श्रीकृष्णको कृपा रहन्छ ।

पूर्वबाट सूर्यको ऊर्जा प्राप्त हुन्छ । तसर्थ यस क्षेत्रमा मयुरको प्वाँख राख्नु वास्तुशास्त्रका हिसाबले शुभ मानिन्छ । आर्थिक समृद्धिमा अवरोध सिर्जना भएको अवस्थामा उत्तर–पश्चिम दिशामा स्थापित गर्दा सकारात्मकता प्राप्त हुन्छ । ज्योतिषशास्त्रका अनुसार कुण्डलीमा राहु दोष देखिएमा उपायका रूपमा मयुरको प्वाँख प्रयोगमा ल्याउन सकिन्छ ।

श्रीकृष्णलाई मनपर्ने अर्को महत्त्वपूर्ण वस्तु मयुरको प्वाँख हो । वास्तुशास्त्रका अनुसार घरमा मयुरको प्वाँख राख्नु अत्यन्तै शुभ मानिन्छ । मयुरको प्वाँख शान्ति र खुसीको प्रतीक हो । घरमा भएको नकारात्मक ऊर्जालाई हटाउन या कम गराउन मयुर–प्वाँख प्रयोगमा गर्ने प्रचलन छ । मयुर–प्वाँखमा भएका सातै रङको आफ्नै महत्त्व छ । सबै रङ समेटिएकाले पनि यसमा सकारात्मक ऊर्जा हुन्छ । वास्तुशास्त्रका अनुसार यसलाई दक्षिण पूर्वदिशामा राख्दा सम्पदा र समृद्धिमा सकारात्मकता मिल्छ । पूर्वबाट सूर्यको ऊर्जा प्राप्त हुन्छ । तसर्थ यस क्षेत्रमा मयुरको प्वाँख राख्नु वास्तुशास्त्रका हिसाबले शुभ मानिन्छ । आर्थिक समृद्धिमा अवरोध सिर्जना भएको अवस्थामा उत्तर–पश्चिम दिशामा स्थापित गर्दा सकारात्मकता प्राप्त हुन्छ । ज्योतिषशास्त्रका अनुसार कुण्डलीमा राहु दोष देखिएमा उपायका रूपमा मयुरको प्वाँख प्रयोगमा ल्याउन सकिन्छ । भगवान् श्रीकृष्णलाई मयुरको प्वाँख अत्यन्तै मनपर्छ । जुन मुकुटमा स्थापित छ । 

मानवको हरेक आवश्यकता पूरा गरिदिने गाई भगवान् श्रीकृष्णको अतिप्रिय थियो । गोपाल नामले चर्चित कृष्णलाई ग्वालाको रूपमा चिनिन्छ । दूध, दही, घिउ, गोबर तथा गोमूत्र सबै देवी–देवताको प्यारो वस्तु हो । यी सबै वस्तु प्रदान गर्ने गाईलाई कामधेनुका रूपमा लिइन्छ । माताको रूपमा लिइने गाईलाई घरमा पालन गर्दा अति उपयुक्त हुन्छ नै । प्रत्यक्ष पालन गर्न नसक्ने अवस्थामा पूर्व–पूर्व–दक्षिणमा बाच्छाबाच्छीसितको गाईको तस्बिर मात्र राख्दा पनि सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वास्तुशास्त्रका अनुसार बाच्छालाई दूध चुसाउँदै गरेको गाईको तस्बिर घरको उपयुक्त स्थानमा राख्दा सक्षम र योग्य सन्तान प्राप्तिको योग बन्छ । घर बनाउन सुरु गर्नुअघि दुधालु गाई बाँध्दा त्यो घडेरी पवित्र बन्छ भन्ने मान्यता छ । जुन घरमा गाईको सेवा हुन्छ, त्यो घरमा सबै दोष शमन हुन्छ भन्ने विश्वास छ । कुनै यात्रामा जाँदा बाटोमा बाच्छासितको गाई देखिनु अत्यन्तै शुभ मानिन्छ । कार्य क्षेत्रमा गाईको मूर्ति या चित्र सकारात्मक मानिन्छ । जसले मानिसको विचारमा पनि सकारात्मकता ल्याउँछ । 

भगवान् श्रीकृष्ण सकारात्मक प्रेमका प्रतीक हुन् । राधा कृष्णको तस्बिर या मूर्तिले घरलाई प्रेमिल बनाउँछ । हरदम कर्मलाई महत्त्व दिने कृष्ण कूटनीतिका उदाहरण हुन् । कार्य क्षेत्रमा कृष्णको तस्बिरले कार्य क्षमतामा पनि वृद्धि गर्छ भन्ने विश्वास छ । वास्तुशास्त्रका अनुसार कार्य क्षेत्र या घरमा भगवान् श्रीकृष्णको चित्र लगाउनु अत्यन्तै शुभ मानिन्छ । त्यसैले भगवान् श्रीकृष्णलाई मनपर्ने बाँसुरी, मयुर प्वाँख, गाई, सुदर्शन चक्र, राधासँगको जोडी यी सबै सकारात्मक ऊर्जाका प्रतीक हुन् । वास्तुसँग प्रत्यक्ष सम्बन्ध राख्ने यी वस्तुको अधिकतम प्रयोग गरौँ । घरमा भएको वास्तुको नकारात्मक ऊर्जालाई नियन्त्रण गरौँ । कृष्णाष्टमीमा उपवास या व्रतसँगै कृष्णको प्रवृत्तिलाई व्यवहारमा उतारौँ । कृष्णाष्टमीको मंगलमय शुभकामना । 

(लेखक दक्षिण एसियाली ज्योतिष महासंघका कार्यवाहक महासचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप