सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३६ अर्ब ६६ करोडको बजेट

विमानस्थलबाट १५ अर्ब ८८ करोड आम्दानी गर्ने लक्ष्य
बिहीबार, २१ भदौ २०८०, ११ : १२
बिहीबार, २१ भदौ २०८०

 काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । साउन १, २०८० देखि नै कार्यान्वयनमा जाने बजेट ल्याउन केही ढिला भए पनि प्राधिकरण सञ्चालक समितिले मंगलबार आर्थिक वर्ष २०८०/८१ बजेट पास गरेको हो । 

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा प्राधिकरणले यो वर्ष ५ अर्ब १९ करोड रुपैयाँ कम बजेट ल्याएको छ । 

अन्तर्राष्ट्रिय स्तरका दुई वटा विमानस्थल गौतमबुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेकाले यो वर्ष केही बजेट घटाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । हालसम्म नेपालको हवाई क्षेत्रमा काम गर्ने एउटै निकायको रूपमा रहेको नागरिक उड्डयन प्राधिकरणले नै हवाई सञ्चालन, नियमन र विमानस्थल पूर्वाधारको विकास निर्माण आफैले गर्दै आएको छ । 

चालु आर्थिक वर्षका कूल ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलबाट १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गर्ने जनाएको छ । थप नेपाल सरकारबाट सेयर बापत प्राप्त गर्ने र ऋण बापतको समेत गरी ६ अर्ब ६४ करोड विनियोजन भइसकेको छ । 

हाल प्राधिकरणको विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी ६ अर्ब ७ करोड बैंक मौज्दात रहेको प्राधिकरणले जनाएको छ । 

यता सरकारबाट मूल्य अभिवृद्धि करबापत् फिर्ता पाउनुपर्ने २ अर्ब ३४ करोड रुपैयाँ र २०८० साउन १ को पेस्कीबापतको मौज्दात रकम ४ अर्ब ८५ करोड गरी ३६ अर्ब ६६ करोड रुपैयाँ स्रोत भर्ना हुने प्राधिकरणको भनाइ छ । 

खर्चतर्फ 

यो वर्ष प्राधिकरणले विमानस्थल पूर्वाधार तथा विकास निर्माणमा १९ अब खर्च गर्ने जनाएको छ । दैनिक कार्य सञ्चालन तथा कर्मचारी अवकाश र चालु खर्च शीर्षकमा प्राधिकरणले ४ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । 

नेपाल सरकारलाई लाभांशबापत २९ करोड बुझाउने, कर्मचारीलाई बोनसबापत ५ करोड ८९ लाख वितरण गर्ने, आयकर व्यवस्थामा २ अर्ब १३ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोषमा १ अर्ब ६३ करोड र वायु यान सञ्चालन कोषको ननअपरेटिभ खातामा ८२ करोड गरी ३६ अर्ब ६५ करोड उपयोग (व्यय) तर्फ विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप