सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

बयानमा याओ पुचेङ्गले भने– .... अनि हामी भाग्यौँ

रेडी ट्रेडर्सको नाममा करिब २० पटक ‘ब्रेक प्याड’ भित्र राखेर भित्र्याइएको थियो सुन
शुक्रबार, २९ भदौ २०८०, १५ : ४०
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । ‘ब्रेक प्याड’ प्रयोग गरी त्यसभित्र लुकाएर १९/२० पटकसम्म नेपालमा सुन भित्र्याएको पाइएको छ ।

पक्राउ परेकामध्ये मुख्य योजनाकार मध्येकै एक मानिएका ‘एलेक्स’ भन्ने चिनियाँ नागरिक याओ पुचेङ्गले अधिकार प्राप्त अधिकारीसमक्ष दिएको बयानमा रेडी ट्रेड प्रालिको नामबाट यसभन्दा अघि १९/२० पटक ब्रेक प्याडमा लुकाएर सुन ल्याइएको उल्लेख छ ।

तर उनले उक्त योजना को–कसले बनाएका हुन् भन्ने आफूलाई थाहा नभएको बताएका छन् । उनले चीनमा आफूले चिनेका श्याम भन्ने चोङ चिङ छह्वाङ र लिन भन्ने मेनेजर र नेपालमा टोखाको हकमा आफूसहित अली भन्ने लि वेन सुङ र स्टेप्स/रोजर भन्ने लि नेङ्गकाइ र सौतेन भन्ने डिङ्ग शेङ्ग फा र लाजिम्पाटको हकमा श्याम भन्ने चोङ चिङ छह्वाङले आफूलाई नेपालमा समन्वय गर्ने गरी जिम्मेवारी दिएको खुलाएका छन् ।

पुचेङ्गले लिन चछ्याङ, चोङ चेनह्वा, पिङ ह्वा र किङ्ग भन्ने फङ लिङ फोङसमेतको योजनामा सुन अवैध पैठारी गरी नेपालमा सुनको व्यापार गर्न थालिएको पनि बयानमा उल्लेख गरेका छन् ।

गत जुलाइ १७ तारिखमा त्रिवि भन्सार कार्यालयमा ब्रेक प्याड ८ कार्टुन र सेभर ८० सेट आएको भनेर आफूलाई श्याम भन्ने चोङ चिङ छह्वाङले भनेको पनि उनले बयानमा खुलाएका छन् ।

छह्वाङले ती सामान बालुवाटार गोदामा लगेर लिन जे किङ्गलाई जिम्मा दिन आफूलाई निर्देशन दिएको जनाउँदै उनले बयानमा आफूले टासी भन्ने थुप्तिन छिरिङलाई ८ कार्टुन ब्रेक प्याड र ८० सेटको सेभरको बिल, इनभ्वाइस र प्याकेजिङ लिस्ट समेतका कागजात निजको ह्वाट्स एपमा पठाएको बताएका छन् ।

छिरिङले त्रिवि भन्सार कार्यालयबाट उल्लेखित सामान छुटाउन हर्कराज राईलाई पठाएको पनि उनले बयानमा खुलाएका छन् ।

‘तर सामान छुटाउन गएका हर्कराज राईले रेडी ट्रेड प्रालिको आर्थिक वर्ष सकिएका कारण कम्पनीको नवीकरण नगरेसम्म सामान निस्किँदैन, कम्पनी नवीकरण गर्नु प¥यो, पैसा चाहियो भनेर टाँसी भन्ने थुप्तिन छिरिङलाई भनेछन्,’ बयानमा उनले भनेका छन्, ‘त्यसपछि मैले एक लाख नगद रुपैयाँ टाँसी भन्ने थुप्तिन छिरिङलाई दिई कम्पनी नवीकरण गरी समान छुटाऊ भनी पठाएकोमा सन् २०२३ जुलाई १८ तारिखमा हर्कराज राईले कम्पनी नवीकरण गरी मालबस्तु छुटाएर भन्सार कार्यालय बाहिर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले उक्त सुनसमेत भएको ब्रेक प्याड र सेभर सहितको सामान र मानिस नियन्त्रणमा लिएर लगेको रहेछ ।’

त्यस दिन सामानहरु राजस्व विभागमा राखी मानिसहरुलाई भोलि आउनु भनी छोडी पठाएको तर भोलिपल्ट निज टाँसी भन्ने थुप्तिन छिरिङले आफूलाई फोन गरी सामान छुटाउन हर्कराज राईले भन्सार एजेण्ट राजेन्द्र कुमार राई भन्ने मानिसलाई पठाएको जानकारी दिँदै सामान छुटाउन राजस्व अनुसन्धान विभागमा ४ लाख जरिवाना तिर्नु पर्ने भयो, पैसा चाहियो भनी पैसा मागेको पनि उनले बयानमा भनेका छन् ।

तर आफूसँग त्यस दिन जम्मा पचास हजार जति मात्र पैसा रहेको र आफूले छिरिङलाई सामान छुटाउन कुरा मिलाउँदै गर्न भन्नु, पैसा खोजेर ठिक पार्छु भनेकोमा उक्त दिन पैसा कतैबाट पनि प्राप्त हुन नसकेको पनि खुलाएका छन् ।

पछि बुझ्दा भन्सार एजेण्ट, हर्क राज राई र टाँसी भन्ने थुप्तिन छिरिङ पक्राउ परेको भन्ने थाहा पाएपछि अब नभागे पक्राउ परिन्छ भनेर आफूसहित लि वेन सुङ, डिङ्ग शेङ्ग फा घर छाडेर भागेको उनले बयानमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप