बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
विद्यालय बन्द भएपछि निराश हुँदै घर फर्किए विद्यार्थी (तस्बिरहरु)
शिक्षकहरु आन्दोलन

विद्यालय बन्द भएपछि निराश हुँदै घर फर्किए विद्यार्थी (तस्बिरहरु)

बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । शिक्षकहरुको आन्दोलनका बीच राजधानीको सामुदायिक विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरु स्कुलै खुला पो छ कि भनेर बिहीबार सधैँझै विद्यालय समयमा पुगे । तर, विद्यालयको गेट बन्द नै थियो । अभिभावक र विद्यार्थीलाई विद्यालय बन्दबारे कुनै जानकारी नभएपछि उनीहरु न स्कुल खुलै पो छ कि भनेर विद्यालयसम्म पुगेका थिए । 

तर, विद्यालय खुला नभएपछि उनीहरु निराश हुँदै घर पर्किएका छन् । ललितपुरको मदनस्मारक विद्यालयका कतिपय विद्यार्थीहरु अध्ययनका लागि विद्यालय त पुगे तर गेट नै बन्द थियो । ‘बिद्यालय बन्द छ भनेर खबर थिएन । तैपनि खुला छ कि भनेर आयौँ तर गेट नै बन्द रहेछ’, एक विद्यार्थीले गुनासो पोखिन् । शिक्षकहरुको आन्दोलनले पढ्न नपाएको भन्दै उनले आक्रोश पोखिन् । 

यसैगरी पाटक ढोकास्थित पाटन हाइस्कुलको पनि ताल उस्तै थियो । सो स्कुलमा मदनस्मारकमा जस्तो गेट त थिएन तर त्यहाँका कर्मचारीले विद्यालय नखुल्ने भन्दै विद्यार्थीहरुलाई घर पठाइदिए । 

उसैगरी काठमाडौँ महानगर मातहका सामुदायिक विद्यालयहरु पनि आज बन्द नै छन् । महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनीका बीच पठनपाठन नभएको हो । 

विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक संघको आह्वानमा शिक्षकहरु आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको हो । शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गरेर आफ्नो माग पुरा गर्न दवाव दिइरहेका छन् ।

गत वर्षको तथ्याङ्अनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका छन् । त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ । 

 यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार छ विद्यार्थी छन् ।  महासङ्घले सामुदायिक विद्यालयका अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ । 

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया