शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कैलारी पुगेर खगराजले भने– ‘हामी माओवादी ब्रोइलर कुखुरा जस्तै भयौं’

बिहीबार, ०४ असोज २०८०, १५ : ४१
बिहीबार, ०४ असोज २०८०

धनगढी । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टले माओवादी ब्रोइलर कुखुरा जस्तै बनेको बताएका छन् । आफ्नो धरातल बिर्सेपछि माओवादीलाई जनताले ठेगान लगाएको बताउँदै उनले समस्या र निकास पनि हाम्रै हातमा रहेको बताए ।

माओवादीको ३ महिने ‘जनता सँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तरगत बिहीबार कैलालीको कैलारी गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका उनले भने–  ‘समस्या र समाधान हाम्रै हातमा छ । हामी बोइलर कुखुरा जस्तै भयौ । लोकल कुखुरा जस्तै रहेको हामी अब बोइलर कुखुरा जस्तै अल्छी भयौ । जनताको ज्यूँदाको जन्ती, मर्दाको मलामी बन्न छोड्यौ । त्यति भएर हामी पतनको बाटोमा छौ ।’ 

उत्पीडित वर्ग, किसान, दलित, मजदुरको पक्षमा लड्नलाई माओवादीको जन्म भएको उल्लेख गर्दै उनले त्यसका लागि मृत्युलाई काखी च्यापेर पार्टी आएको बताए । जनतामा हुँदा माओवादी सशक्त रहेको बताउँदै भट्टले जनताको साथ छोडेर कुलीन वर्गको साथ लागेपछि बिग्रेको स्पष्ट पारे ।

उनले भने, ‘जनतामाफ हुँदा ठीक थियौ । तर जब हामी दलाल, ठेकेदार, कुलिन वर्गको पछाडि लाग्यौ । गाउँ छोड्यौ । त्यसपछि हामी बिग्रियौ । हामी जनतालाई छोडेर सुब्बा, खरिदार लेवलका जस्तै भयौ । परजीवी भयौ । पुरानै अवस्थामा फर्किन आत्मालोचना गरेर जनतामा जानुको विकल्प छैन ।’ 

भेलामा माओवादीका केन्द्रीय सदस्य तथा अभियान जिल्ला इन्चार्ज टेकेन्द्र भट्टले जनताको सल्लाह सुझाव, आलोचनाबाट मात्रै पार्टीलाई रुपमान्तरण गर्न सकिने बताए । माओवादीकै एजेण्डामा मुलुक अगाडि बढेको बताउँदै उनले प्राप्त उपलब्धिबारे जनतालाई बुझाउन नसक्दा पार्टी कमजोर भएको तर सोही एजेण्डालाई भजाएर केही दलले माओवादीलाई उछिनेको उनको भनाइ थियो ।

भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, प्रदेश कमिटी सदस्य सुरेन्द्र चौधरी, लक्ष्मण चौधरीलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप