बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छः महानिरीक्षक कुँवर

बिहीबार, ०४ असोज २०८०, १६ : ४७
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका हुन् । उनले सीमान्तकृत वर्गप्रति अझ सहज र सेवाग्राहीमैत्री भएर काम गर्ने प्रयत्न गरिएको बताए । 

त्यस्तै प्रहरीले आफ्नो व्यवहार सुधार्दै व्यावसायिक ढङ्गले काम गरिरहेको उल्लेख गरे । उनले हाल दुई वर्षे कार्ययोजना बनाइ १४ वटा लक्ष्य तोकेर काम गरिरहेको पनि स्पष्ट पारे । महानिरीक्षक कुँवरले सरुवा मापदण्ड बनाएर प्रहरीको सरुवा गरेसँगै प्रहरीको मनोबल बढेको बताए ।  प्रहरी सरुवामा शक्ति र पहुँच नहुनेहरूले पनि अवसर पाएको उनको भनाइ छ ।

महानिरीक्षक कुँवरले प्रहरी समक्ष आर्थिक क्षेत्रका उजुरीहरुपनि धेरै आउन थालेको भन्दै यसले प्रहरीलाई समेत समस्या परिरहेको बताए । उनले वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्ने बताए । 

उनले भने, ‘अहिले सबभन्दा बढी इस्यु भनेको आर्थिक क्षेत्रको इस्यु छ । वित्तीय समस्यासँग, सहकारीसँग र यसैसँग जोडिएका समस्याहरू छन् । करिब २५ प्रतिशत मुद्दाहरूले गर्दा हामीलाई समस्या आएको छ । हामीले भनिरहेका छौँ यसको लागि छुट्टै किसिमको वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छ भनेर पहल सुरु गरेका छौँ । यसका लागि राज्य गम्भीर बन्नुपर्छ ।’

त्यसैगरी बैठकमा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डिजिटल कन्सेप्टका साथ सीमा सुरक्षा गर्न बजेट पर्याप्त भएमा सिमानाको सुरक्षा गर्न र राजश्व चुहावटलाई रोक्न सहज हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप