आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

सरकारसँगको सम्झौता उपलब्धिमूलक रहेको विद्यालय कर्मचारीहरूको निष्कर्ष

आइतबार, ०७ असोज २०८०, १५ : ०८
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । सरकारसँग गरिएको ६ बुँदे सम्झौता उपलब्धिमूलक रहेको विद्यालय कर्मचारीहरूले निष्कर्ष निकालेका छन् । नेपाल सामुदायिक विद्यालय कर्मचारी परिषद्ले सरकारसँग गरेको सम्झौता विद्यालय कर्मचारीहरूको हकमा उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको हो ।

असोज ५ गते सरकारसँग गरेको सहमति अनुसार विद्यालय कर्मचारीले उठान गर्दै आएका माग मुद्दाहरू सम्बोधन गरिएको छ । जसमा दरबन्दी समायोजन गर्ने विषय, सञ्चित बिरामी बिदा र औषधि उपचार खर्च पाउने विषय तथा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषय सम्झौतामा समावेश गरिएको छ । जसलाई विद्यालय कर्मचारीको हकमा उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।

उक्त सहमति अनुसार संसदमा दर्ता भएको विधेयक संशोधनका लागि सङ्घीय सांसदहरूलाई प्रस्ताव राख्न दबाब दिने समेत जनाए । त्यसका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने सांसदहरूलाई लबिङ गर्ने लगायतका काम गरिने उनको भनाई छ । कर्मचारीहरूका अधिकांश माग पुरा भएको र सरकारसँग भएको सहमति विद्यालय कर्मचारीका लागि उपलब्धि मूलक भएको अध्यक्ष तिवारीले बताए ।

उनले काठमाडौँ  केन्द्रित सडक आन्दोलनमा सहभागी भएका विद्यालय कर्मचारीहरूलाई विद्यालय फर्किएर दैनिक कार्यमा खटिन समेत अपिल गरेका छन् ।‘अब हामी केन्द्रमै बसेर लबिङको पाटोलाई अगाडि बढाउँछौँ । अन्य साथीहरू आफ्नो कर्म क्षेत्रमा फर्किएर काम गर्नुहुन्छ । यसलाई लामो समयको अथक प्रयासपछिको उपलब्धिको रूपमा लिएका छौँ’ उनले भने ।

विद्यालय कर्मचारीहरूले आफूहरूको पेसागत सुरक्षाको माग राख्दै विगतमा समेत काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए । त्यो बेला विद्यालय शिक्षा विधेयकमा मागहरू समेटेर जाने सहमति गरेको थियो । तर, विधेयक आउँदा मागहरू सम्बोधन नगरिएपछि नेपाल शिक्षक महासङ्घसँगै परिषद् पनि आन्दोलनमा होमिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप