सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जहाज खरिद पारदर्शी हुन्छ : पर्यटनमन्त्री किराती

बुधबार, १० असोज २०८०, १४ : १५
बुधबार, १० असोज २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन्  । आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले निगमको जहाज खरिद गर्न लागेको बताए । 

मन्त्री किरातीले भने, “जहाज खरिदका  विषयमा नकारात्मक टिप्पणी भइरहे पनि हामी पारदर्शीपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइन्छ । कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँछु ।”

निगमको आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाटै तीन थान ट्विनअटर जहाज खरिद गर्न लागेको छ । निगमसँग हाल आन्तरिकतर्फ दुई थान ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई थान वाइड बडी र दुई थान न्यारोबडी जहाज छन् ।
 
यसै‍बीच पर्यटनमन्त्री सुदन किरातीले विकाससम्बन्धी नीतिलाई संशोधन गरी संस्कृति र प्रकृतिमैत्री बनाउन जरुरी रहेको बताए । उनले नेपालको प्राकृतिक, भौगोलिक विविधता, हिमशृङ्खला, संस्कृति र सभ्यता विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने भन्दै यसबाट लाभ लिनसक्ने गरी ऐन तथा कानून संशोधन आवश्यक भएको बताए ।
सो अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मुलुकको पर्यटन विकासका लागि नेपालको संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटनसँग जोडर लैजानुपर्ने धारणा राखे । 

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले ‘पर्यटन र हरित लगानी’ नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप