सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एमालेमा जाने ‘भगौडा’हरुले भ्रम फैलाएका छन् : पूर्व मन्त्री श्रेष्ठ

बुधबार, १० असोज २०८०, २१ : ०२
बुधबार, १० असोज २०८०

बारा । पूर्वमन्त्री तथा बारा–४ का संघीय सांसद किसान श्रेष्ठले नेकपा एमालेमा भागेर जाने ‘भगौडा’हरुले किसान श्रेष्ठ एमालेमा प्रवेश गर्दैछ भनेर भ्रम फैलाइरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जीतपुर सिमरा नगर कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले आफू नेकपा एकीकृत समाजवादी छोडेर एमालेमा नजाने स्पष्ट पारे ।

‘नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग व्यक्तिगत रुपमा म जत्तिको नजिक को थियो र ? तर उहाँको हैकमवादी क्रियाकलाप चित्त नबुझेर विद्रोह गरेको मान्छे हुँ,’ उनले भने, ‘एमाले प्रवेश गरेका केही भगौडाहरुले किसान श्रेष्ठ एमालेमा आउँदैछ भनेर गलत प्रचार गरिरहेका छन्, तर यो सत्य होइन ।’

नेकपा एकीकृत समाजवादीका सांसद श्रेष्ठले पार्टीबाट १÷२ जना गए पनि हजारौँ आउने जिकिरसमेत गरे । श्रेष्ठ नेकपा एकीकृत समाजवादीका बारा जिल्ला सह इन्चार्ज तथा बारा निर्वाचन क्षेत्र नं ४ का पार्टी इन्चार्ज हुन् ।

दुई साताअघि नेकपा एकीकृत समाजवादी जीतपुर सिमरा नगर कमिटी अध्यक्ष कृष्ण खनाल, प्रदेश कमिटी सदस्य ईश्वर ढकाल सहितका केही कार्यकर्ता एमालेमा प्रवेश गरेको घटनालाई लिएर एमालेले नेकपा एकीकृत समाजवादीका नेताहरुको घर घरमा, गाउँ गाउँमा पसेर विभिन्न आश्वासन दिएर फकाइरहेको टिप्पणीसमेत उनले गरे ।

उनले अब केही गरौँ भन्ने जागरुकता भएका युवालाई पार्टीको नेतृत्व गर्ने मौका दिनुपर्ने बताए । त्यसमा लागि पुराना नेताहरुले त्याग गर्न सक्नुपर्ने उनको भनाइ छ ।

श्रेष्ठले पार्टीको बारा जिल्ला सह इन्चार्जको जिम्मेवारी पाएपछि बसेको पहिलो बैठकमा उनले नेकपा एकीकृत समाजवादीको यात्रा बारा जिल्लामा अब सुरु भएकाले पार्टीभित्र कुनै गुट/उपगुट नहुने दाबी गरे ।

‘अब नेकपा एकीकृत समाजवादी पार्टीभित्र नो गुट/उपगुट, हामी सबै एक हौँ, हामीले एकीकृत समाजवादीका नेता कार्यकर्ता चिन्छौँ, गुट, उपगुट चिन्दैनौँ,’ श्रेष्ठले भने, ‘नेकपा एकीकृत समाजवादीका साथीहरु निर्धक्क भएर विकास निर्माण र जनताको समस्याको विषयमा, रोजगारीको विषयमा लाग्नुस् । जनतामाझ समाजवादी पार्टी आयो भन्ने हिसाबले काम गर्नुस्, तपाईंहरुको साथमा सिङ्गो पार्टी छ ।’

बुधबार भएको नगर कमिटी बैठकले एमालेमा प्रवेश गरेका नगर कमिटी अध्यक्ष कृष्ण खनाल, उपसचिव हरि जम्कट्टेल, सदस्यहरु भुटाई चौधरी, मनोज रामले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै निजहरुलाई पार्टी सदस्य नरहने गरी निष्कासन तथा कारबाही गर्ने निर्णय गरेको छ ।

साथै संजय प्रसाद पटेलको अध्यक्षतामा नगर कमिटी पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा गौरव नेपाल र अस्लम देवान, सचिवमा कपुर राज गिरी, उपसचिवमा विकास साह, मिरा पुरी र हेमनारायण चौधरी सहित ५१ जना सदस्य छन् ।

कार्यक्रममा पार्टी केन्द्रीय कमिटीले असोज १४ गते मेचीबाट सुरु गरेर असोज २८ गते महाकालीमा पुगेर सम्पन्न हुने मेची–महाकाली समाजवादी यात्रालाई सफल बनाउन सबैलाई आह्वान गरिएको छ । मेची–महाकाली समाजवादी यात्राको क्रममा असोज १८ र १९ गते बारामा कार्यक्रम आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप