कर्णाली एमाले अधिवेशन : सरकार र सबैजसो दलको आलोचना

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउने भएपछि बुधबार बिहानैदेखि वीरेन्द्रनगरको सिटी हल बाहिरको माहोल निकै गर्माएकै थियो । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन उद्घाटन गर्न सुर्खेत आएका ओली दिउँसो ३ बजेमात्र हलमा प्रवेश गरे ।
दिउँसो १ बजे अधिवेशन उद्घाटन गर्ने भनेर प्रचार गरिए पनि अध्यक्ष ओली समयमै सहभागी हुन् सकेनन् । जब ओली हलमा प्रवेश गरे, माहोल बेग्लै बन्यो । हल खचाखच भरियो । ओलीले जब बोल्न सुरु गरे, तब कार्यकर्ताले ताली बजाइरहे । ओलीले आफ्नो सम्बोधनको अधिकांश समय अन्य दल तथा नेताहरुको आलोचनामा खर्चिए ।
एक घण्टाभन्दा बढी बोलेका ओलीले सरकारको जमेर आलोचना गरे । ओलीले यो देशमा एमाले आउनुभन्दा अघि जनताले विकास भन्ने कुरा के हो भन्ने देखेकै थिएनन् भन्न भ्याए । एमाले आएपछि मात्रै नदीका किनारदेखि जताततै विकास भएको उनको भनाइ थियो ।
एमालेविरुद्ध घेराबन्दी भइरहेको बताउँदै ओलीले यो देशको विकासको नायकत्व एमाले बाहेक कसैले गर्न नसक्ने दाबी गरे । ‘समृद्ध नेपालको सपना देखाउने एमालेभित्र घेराबन्दी हालियो,’ ओलीले भने, ‘एमाले सबै खाले व्यवधानलाई पराजित गर्दै अगाडि बढ्ने पार्टी हो ।’
ओलीले एमालेमात्र देशभक्त पार्टी रहेको दाबी गरे । अन्य दलहरु विदेशीको इसारामा चलिरहेको आरोप उनको थियो । एमाले बाहेक अरु कुनै दलले राष्ट्रिय हितमा काम नगरेको समेत उनले बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकतन्त्रको टुप्पोमा पलाएको ऐजेरु भएको टिप्पणी गरे भने देशमा जताततै बलात्कारी, गुण्डागर्दी चलिरहेको र अराजकता बढिरहेको भन्दै सरकारको आलोचना गरे ।
ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई नक्कली कम्युनिस्ट दलका रुपमा चर्चा गरे भने उक्त पार्टीका सबै नेता, कार्यकर्ता एमालेमा प्रवेश गराएर समाजवादीलाई महाधिवेशनसम्म खाली गराइदिउँ भन्दै कार्यकर्तालाई हौस्याए ।
ओलीले ०८४ मा गठबन्धनलाई धोवीले लुगा धोएझैँ धोइदिने बताए ।
एमालेका महासचिव शंकर पोखरेलले अधिकांश समय ओलीकै गुणगानमै बिताए । उनले केपी शर्मा ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन नसक्ने दाबी गरे ।
०८४ मा सरकारको नेतृत्व कसरी लिने भन्ने चिन्ता
एमाले अध्यक्ष ओलीले ०८४ मा जसरी भए पनि एमालेले सरकारको नेतृत्व लिने दाबी गरे । त्यसका लागि आजदेखिनै नेता, कार्यकर्ताहरुलाई मिसन ०८४ मा लाग्न उनले निर्देशन लिए ।
ओलीले भने, ‘०८४ लाई अर्थपूर्ण वर्षका रुपमा मनाउनुपर्ने भएको छ । त्यो किन त ? एमालेले सरकारको नेतृत्व गरेर विकासको नायकत्व भूमिका लिन्छ ।’
०८४ मा हरेक वडामा ५१ प्रतिशत एमाले बनाउने गरी लाग्न कार्यकर्तालाई उनले निर्देशन समेत दिए ।
महासचिव शंकर पोखरेलले पनि ०८४ मा जसरी पनि एमाले राष्ट्रिय शक्ति बन्ने र देशको एकल नेतृत्व लिनेगरी लाग्नुपर्ने बताए । उनले एमाले सरकारमा नभएकोमा चिन्ता व्यक्त गरे । ‘हामीले राष्ट्र निर्माणको नेतृत्व गरिरहेका बेला सबै मिलेर एमालेलाई हटाएको र एमाले नेतृत्वमा नहुँदा समाजमा वितृष्णा जागेको छ,’ उनले भने, ‘आज एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ ।’
महासचिव पोखरेलले एमालेविरुद्धको घेराबन्दीलाई तोडेर एमाले नेतृत्वको सरकार बनाउने अभियानमा जुट्न जरुरी रहेको बताए । मिसन २०८४ मा एमाले एक्लैले बहुमत ल्याउने र सोही अनुसार नेता, कार्यकर्ताहरुलाई लाग्न उनले पनि निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : नव जनजागृतिलाई हराउँदै संकटा सेमिफाइनलमा
-
मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा
-
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको अध्यक्षमा तीन दलको ‘बार्गेनिङ’
-
किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद
-
व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर सुधार हुन सकेन : पूर्व राष्ट्रपति भण्डारी