मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेशमा दूध उत्पादन बढ्यो, बंगलादेशमा बजार खोज्दै व्यवसायी

उत्पादन बढेसँगै पाउडर उत्पादन गर्ने प्लान्ट पनि थपिए
बिहीबार, ११ असोज २०८०, १७ : ०३
बिहीबार, ११ असोज २०८०

विराटनगर । कोशी प्रदेशमा दुध उत्पादन बढेर बजारमा बिक्री नहुँदा किसानहरु ‘मिल्क होलिडे’को मारमा परेका छन् । अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार कोशी प्रदेशमा दुध दिने गाईको सङ्ख्या ५ लाख १० हजार ३२ रहेको छ भने भैँसीको सङ्ख्या २ लाख ८७ हजार ९६८ रहेको छ । जसबाट प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दुध उत्पादन हुने गरेको छ । 

प्रदेशमा प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर रहेको छ भने आवश्यकता ७१ लिटर मात्रै हो । उक्त तथ्याङ्कअनुसार पनि कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी भइरहेको कोशी प्रदेश पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक पशुपति ढुङ्गाना बताउँछन् । 

मोरङको कानेपोखरीमा सञ्चालित नवदुर्गा डेरीले गत वर्षको यही सिजनमा ४ हजार लिटर दुध सङ्कलन गर्थ्यो । तर, अहिले ८ हजार लिटर प्रतिदिन सङ्कलन भइरहेको छ । उक्त डेरीका सञ्चालक राजकुमार खनालले दुध विक्री नभएर ठुलो समस्या आएको बताउँछन् ।

उत्पादन बढेपछि दुग्ध व्यवसायीले नयाँ बजारको रूपमा बंगलादेश निर्यातको सम्भावना खोजी गर्न थालेका छन् । डेरी उद्योगीको टोली अहिले नयाँ बजार खोजी गर्दै बंगलादेश पुगेका छन् । 

ऋतिका डेरी उद्योग, कामधेनु डेरी उद्योग, सगरमाथा विशिष्टीकृत सहकारी संस्था र नेपाल डेरी एसोसिएसन समेतको प्रतिनिधिमण्डल बंगलादेशमा दुध निर्यातको सम्भावना अध्ययन गर्न त्यसतर्फ गएको हो । 

सूर्योदय मिल्क एन्ड बेभरज इण्डष्ट्रिजका सञ्चालक अनुज यादवका अनुसार उत्पादित दुध बजारमा खपत नभएपछि व्यवसायीहरू नयाँ बजारको खोजीमा लागेका हुन् । 

Fullscreen capture 9282023 51004 PM

दुधको उत्पादन बडेसँगै कोशी प्रदेशमा दुधबाट पाउडर उत्पादन गर्ने प्लान्ट पनि थपिएका छन् । जेठ महिनासम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गरिरहेको थियो । अहिले तीन वटा प्लान्टले निरन्तर पाउडर दुध बनाइरहेका छन् । 

यति हुँदा पनि किसानले उत्पादन गरेको सबै दुध खपत हुन सकेको छैन । जसले गर्दा दुध सङ्कलन गर्दै आएका सहकारीहरूले अघोषित रूपमा मिल्क होलिडे लागु गरिरहेका छन् । 

गएको फागुन महिनासम्म उत्पादित दुध जेनतेन बजारमा खपत भएको र त्यसपछि बजारको मागभन्दा बढी दुध बजारमा आउने क्रम अहिले निरन्तर छ । फागुन, चैत महिनासम्म विराटनगरको सूर्योदय मिल्क एन्ड बेभरेज इण्डष्ट्रिजले बढी भएको दुधलाई पाउडरमा रुपान्तरण गर्दै आएकोमा अहिले तीन वटा उद्योगले पाउडर बनाइरहेका छन् । 

दुधको उत्पादन बढेसँगै दैनिक ८ हजार लिटर दुध सङ्कलन गर्दै आएको दुग्ध विकास संस्थानको विराटनगरस्थित दुग्ध वितरण आयोजनाले दैनिक २५ हजार लिटर दुध सङ्कलन गर्न थालेको छ । सङ्कलितमध्ये दैनिक ६ हजार लिटर हाराहारी दुधले मात्र बजार पाइरहेको डिडिसीका आयोजना प्रमुख परमानन्द चौधरीले जानकारी दिए । 

संस्थानको ढल्केबर र हेटौडा आयोजनाबाट पनि खपत नभएको दुध पाउडर बनाउन विराटनगर आइरहेको उनको भनाइ छ । 

Dudh News (3)

दुग्ध वितरण आयोजना विराटनगरसँग अहिले ४० हजार किलोग्राम धूलो (पाउडर) दुध र ७० हजार किलो नौनी (बटर) मौज्दात छ । डिडिसीले आफ्नो १० मध्ये ७ सङ्कलन केन्द्रबाट नियमित दुध सङ्कलन गर्दै आएको छ । इलामको कुटीडाँडा, लक्ष्मीपुर र पुवाखोला सङ्कलन केन्द्रबाट भने अहिले दुध सङ्कलन बन्द गरेको आयोजना प्रमुख चौधरीले जानकारी दिए । 

यस्तै, विभिन्न ४२ दुग्ध सहकारीहरू मिलेर स्थापना भएको सगरमाथा विशिष्टीकृत सहकारी संस्थाले प्रदेश सरकारको सहयोगमा स्थापना गरेको पाउडर प्लान्ट औपचारिक रूपमा उद्घाटन भइसकेको छैन । तर, साउन १५ मा परीक्षण उत्पादन गरेको प्लान्ट त्यसयता निरन्तर सञ्चालन भइरहेको छ । यसले अहिलेसम्म झन्डै ५ लाख लिटर दुधको पाउडर बनाइसकेको संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले जानकारी दिए । 

तर पनि किसानहरूले उत्पादन गरे जति सबै दुध सहकारीहरूले लिन नसक्ने अवस्था देखिएको उनले बताए । दुधको उत्पादन बढेको तर बजार नबढ्दा उत्पादित दुधको खपतमा समस्या देखिन थालेको लुइँटेलको भनाइ छ । 

सुनसरीको तरहरास्थित कामधेनु डेरी उद्योगले गत वर्षको भदौ, असोज महिनामा दैनिक १० हजार लिटर दुध सङ्कलन गर्दै आएकोमा यस पटक दैनिक १५ हजार लिटर सङ्कलन गरिरहेको जनाएको छ । 

यसै गरी, विराटनगरमा सञ्चालित सूर्योदय मिल्क एन्ड बेभरेज इण्डष्ट्रिजले नियमित रूपमा धूलो दुध उत्पादन गरिरहेको छ । उद्योगका सञ्चालक अनुज यादवले दुधको उत्पादन बढेको र बजार केही घटेको अवस्थाले असन्तुलन देखिएको जनाए । 

सूर्योदयमा सिराहा, झापा, मोरङ र सुनसरीका विभिन्न डेरी उद्योगहरूले सङ्कलन गरेको दुध पाउडरमा परिणत गर्न ल्याउने गरेका छन् । 

कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दुधमध्ये डेढ लाख लिटर दुध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो । तर, अहिले औपचारिक क्षेत्रमा झन्डै अढाई लाख लिटर भन्दा बढी दुध सङ्कलन भइरहेको डेरी उद्योगहरू बताउँछन् ।

Dudh News (5)

कोशी प्रदेशमा दुध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीहरूले बताएका छन् । 

कोशी प्रदेश सरकारले दुध उत्पादन बढ्ने अनुमान गरी खपत हुन नसक्ने दुध पाउडर बनाएर राख्न छुट्टै पाउडर प्लान्ट स्थापना गर्ने कार्यक्रम अगाडि सारेको थियो । 

चार वर्षअघि कोशी प्रदेश सरकारले दैनिक पाँच हजार किलो पाउडर (धूलो दुध) उत्पादन गर्ने उद्देश्यसहित सार्वजनिक–निजी साझेदारी कार्यक्रम अन्तरगत २० करोड रुपैयाँ नगद अनुदान दिने गरी सगरमाथा विशिष्टीकृत सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेको थियो । 

उता, कोशी प्रदेशमा दुध उत्पादन बढ्दै गएपछि पश्चिमका डेरी उद्योगहरूले दुध लैजान थालेका छन् । गत वर्षदेखि कोशी प्रदेशबाट दुध लाँदै गरेको पोखराको सुजल डेरी उद्योगले यतिबेला दैनिक ३५ हजार लिटर दुध लगिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप