सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
आन्दोलन

बालक मृत्यु प्रकरण: बिहानैदेखि वीरेन्द्रनगरको एरिचोक तनावग्रस्त

दुवै बालकका आफन्तद्वारा संयुक्त आन्दोलन
आइतबार, १४ असोज २०८०, १० : १७
आइतबार, १४ असोज २०८०

सुर्खेत । शुक्रबार र शनिबार छुट्टा–छुट्टै भएको घटनामा परी मृत्यु भएका दुई जना बालकका आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि पुनः आन्दोलन सुरु गरेका छन् । दुवै बालकका आफन्तद्वारा संयुक्त रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइरहेका छन् । जसका कारण एरिचोक परिसर बिहानैदेखि तनावग्रस्त अवस्थामा छ । 

वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिवार मृत्यु भएको थियो ।

यस्तै शुक्रबार वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । उनी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का हुन् । 

होस्टेलमै शङ्कास्पद मृत्यु भएका उनका आफन्त र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरीका आफन्तहरू घटनाको छानबिन र क्षतिुपर्तिको माग गर्दै आइतबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् । 

वीरेन्द्रनगरका चोक–चोकमा टायर बाल्नेदेखि नारा लगाउनेसम्मका गतिविधिहरू आन्दोलनकारीले गरिरहेका छन् । शनिबार दिनभर तनावग्रस्त बनेको वीरेन्द्रनगर आइतबार पनि तनावग्रस्त बन्ने देखिएको छ । तर, प्रशासनले भने कुनै एक्सन लिइरहेको देखिन्न । 

शनिबार उषा बालवाटिमा आन्दोलनकारीले आगजनी गर्ने काम गरेका थिए । आफन्तहरूले घटना शङ्कास्पद रहेको भन्दै लास उठाउन दिएका थिएनन् । 

भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो । मोटरसाइकलले ठक्कर दिएको घटनामा अहिलेसम्म पनि चालक फरार रहेको छ । 

घटना घटेको २४ घण्टा पुगे पनि प्रहरीले दुर्घटनाकर्तालाई जोगाएको आरोप आफन्तको छ । मामाको घरबाट फुपुको घर जाने भन्दै घरबाट निस्केका दिग्दर्शनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलले ठक्कर दिए पनि उनलाई चालकले झन्डै १५ मिटर भन्दा बढी मोटरसाइकलको लेकगार्डमा लतार्दै लगेको र सो कारण उनको निधन भएको आफन्तको भनाइ छ ।

birendranagar andilan2

आफन्तहरूले आज बिहानैदेखि कर्णाली राजमार्ग अवरुद्ध गर्नेदेखि प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी लक्ष्मण शाहीका अनुसार जारी आन्दोलनलाई सहज बनाउने प्रयास भइरहेको छ ।

‘हामी आन्दोलन सहज बनाउने प्रयास गरिरहेका छौँ,’ उनले भने,‘दुवै घटनाको अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार उषा बाल वाटिकाको शव पोस्टमार्टमका लागि अस्पतालमा लगिएको छ । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउने प्रयास भइरहेको बताए । साथै उनले मोटरसाइकल चालकलाई खोज्नका लागि पूर्ण रूपमा प्रहरी परिचालन गरिएको बताए । 

‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, उहाँहरू आन्दोलन गर्नुहुन्छ । अनुसन्धान गर्ने काम भइरहेको छ,’ उनले भने,‘ आन्दोलनले मरेको मान्छे फिर्ता आउने हैन नि ।’ बल प्रयोग गर्दा अर्को घटना हुन सक्ने हुँदा सकेसम्म सहज रूपमा आन्दोलनलाई साम्य पार्ने तयारी भइरहेको उनले बताए।

birendranagar andilan1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप