मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

रूपान्तरण अभियानको कार्यक्रम शेखरले किन गरे बहिष्कार ?

आइतबार, १४ असोज २०८०, २० : २३
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षभित्रको मतभेद सार्वजनिक रूपमा सतहमा आएको छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापाबिच विश्वासको सङ्कट देखिएको हो ।

संस्थापन इतरपक्षका नेतालाई एउटै मोर्चामा ल्याउन पहल भइरहे पनि दुईबिच पूर्ण विश्वासको वातावरण छैन । आइतबार काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित कांग्रेस रूपान्तरण अभियानको कार्यक्रमले कोइराला र थापाबिचको अविश्वासको डोरी थप तन्काउने काम गरेको देखिन्छ ।

382869941_1365857777356773_1068892688232043854_n

कार्यक्रममा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेललाई प्रमुख वक्ताका रूपमा आमन्त्रण गरिएको थियो । कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आयोजना गरेको उक्त कार्यक्रम नेता कोइराला र उपसभापति गुरुङले बहिस्कार गरिदिएका छन् ।

नेता जगदिशनरसिंह केसीको अध्यक्षमा भएको कार्यक्रममा महामन्त्री थापा, नेता केसी र पौडेल मात्र सहभागी भए । त्यसका अतिरिक्त नेता दिलेन्द्र बडू भने कार्यक्रममा सहभागी भएका थिए ।

महामन्त्री थापाको पारिवारिक सम्बन्ध रहेको केसी परिवारको विशेष पहलमा भएको कार्यक्रममा नेता कोइराला सहभागी नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

383229048_854609606115308_4994907345296461984_n

कोइरालाले किन गरे कार्यक्रम बहिस्कार ?

नेता कोइरालाले पार्टीले नचिन्ने कांग्रेस रूपान्तरण अभियानको ब्यानरमा कार्यक्रम नराख्न सुझाएका थिए । नेता कोइरालाले आज बिहान नेताहरू गोविन्द पोखरेल, देवराज चालिसे र जगदिशनरसिंह केसीलाई आफ्नो सचिवालय बिशालनगरमा बोलाएका थिए । कोइरालाले उनीहरूलाई पार्टीले नचिन्ने ब्यानरमा कार्यक्रम नराख्न भनेका थिए ।

साथै दसैँपछि मात्र कार्यक्रम गर्न उपयुक्त हुने कोइरालाको राय थियो । नेता पोखरेल र चालिसेले यसबारे रूपान्तरण अभियानमा छलफल गर्ने जवाफ दिएका थिए । तर, केसीले आज कुनै हालतमा कार्यक्रम राख्ने अडान लिएर विशालबजारमाबाट बाहिरिए ।

कोइराला निकट स्रोतले रातोपाटीलाई भन्यो, 'पहिलो चरणको रूपान्तरण कार्यक्रम आफ्नो तरिकाले सम्पन्न भयो । त्यो कुरा ठिकै थियो । दोस्रो चरणको रूपान्तरणको अभियान लिएर १६५ वटै क्षेत्रमा जाने सहमति थियो । तर, पार्टीको वैधानिक संरचनाको ब्यानरमा कार्यक्रम गर्ने भन्ने शेखर दाइको कुरा थियो ।'

'पार्टी नेतृत्वविरुद्ध जति विद्रोह गर्ने हो, जित उफ्रिने हो, झगडा गर्ने हो विधानकै परिधिमा बसेर गरौँ भन्ने हो । त्यो नभएपछि शेखर दाइले कार्यक्रम बहिस्कार गर्नुभएको हो,' स्रोतले भन्यो ।

जिम्मेवार नेताहरूले नै पार्टीको वैधानिक संरचनाभन्दा बाहिर गएर कार्यक्रम राख्न नहुने कोइरालाको भनाइ थियो । 'दुईवटा पार्टी होइन । जिम्मेवार नेताहरूले नै पार्टीको वैधानिक संरचनाभन्दा बाहिर गएर कार्यक्रम राख्दा भोलि पार्टी विभाजन हुने खतरा हुन्छ । रूपान्तरण अभियान लिएर हिँड्ने मान्छेको मनस्थिति राम्रो होला । तर, भोलि देशी विदेशी शक्तिले खेलिदिन्छन्,' स्रोतले भन्यो ।

कोइरालासहित पदाधिकारी र रूपान्तरण अभियानका नेताहरुबीचको छलफलमा प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका र वडा समितिको ब्यानरमा कार्यक्रम गर्ने सहमति थियो । आज त्यो अनुसार कार्यक्रम भएन । कांग्रेस रूपान्तरण अभियान बागमती भन्ने संरचना विधानले नचिन्ने भन्दै कोइरालाले कार्यक्रम बहिस्कार गरिदिएको स्रोतको दाबी छ ।

'पार्टी नेतृत्वविरुद्ध जति विद्रोह गर्ने हो, जित उफ्रिने हो, झगडा गर्ने हो विधानकै परिधिमा बसेर गरौँ भन्ने हो । त्यो नभएपछि शेखर दाइले कार्यक्रम बहिस्कार गर्नुभएको हो,' स्रोतले भन्यो ।

रूपान्तरण अभियानको पनि बागमती प्रदेश संयोजक मधु आचार्य भए पनि जगदिशनरसिंह केसीको भूमिका पनि कोइरालालाई चित्त बुझेको थिएन । 'रूपान्तरण अभियानका नाममा उहाँले बलमिच्याइ गर्न खोज्नुभयो । उहाँ रूपान्तरण अभियानको अभियान्ता होइन,' कोइराला पक्षीय एक नेताले ।

कोइरालाबारे के भन्छन् नेताहरू ?

नेता जगदिशनरसिंह केसीले भने कोइरालाको सल्लाहमै कार्यक्रम राखेको बताए । 'शेखर दाइ र गगनजी दुई जनाले असोज १४ गतेको समय दिएपछि हामीले कार्यक्रम राखेका हौं,' उनले भने । कोइराला स्वास्थ्य अवस्था र उपसभापति गुरुङ व्यस्तताले कार्यक्रममा नआएको रातोपाटीलाई बताए ।

'धनराजजी मन्त्री भएकाले व्यस्त भएर नआउनु भएको होला । शेखर दाइले भने स्वास्थ्य समस्या भएपछि आउन सक्दिनँ भनेर भन्नु भएको हो,' केसी भन्छन्, 'रूपान्तरण अभियानमा हामीले सबैलाई जोड्दै जाने हो । अहिले उहाँ (शेखर कोइराला) जोडिन सक्नु भएन । अर्को पटकको कार्यक्रममा उहाँ पनि जोडिनु होला ।'

कार्यक्रममा बडूले कोइरालाको खोजी गरेको देखिन्थ्यो ।' कार्यक्रममा बोल्दा नेता बडूले कार्यक्रमको ब्यानरमा उत्साह, एकता र रूपान्तरण लेखे जस्तै समूहभित्र पनि त्यसको आवश्यकता औँल्याएका थिए ।

आजको कार्यक्रममा १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्री लडेका प्रदीप पौडेल सहभागी भएको भन्दै  अर्को कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मालाई पनि बोलाउने उनको भनाइ छ ।

'आज प्रदीपजीहरू आइपुगे । भोलि विश्वजीलाई पनि अर्को कार्यक्रममा बोलाउँछौँ । रूपान्तरण अभियान गुटरहित हो । कोही आउनु र नआउनुमा केही फरक पर्दैन,' केसीले भने ।

पार्टी केन्द्रीय सदस्य गोविन्द पोखरेलले भने नेता कोइराला कार्यक्रममा नआउनुको कारणबारे अनभिज्ञता प्रकट गरे । कोइराला निकट पोखरेलले भने, 'उहाँ काठमाडौँमै हुनुहुन्थ्यो । संसद्मा जानु भएको थियो । किन आउनु भएन मलाई थाहा छैन । संसद्मा साथीहरूसँग सल्लाह गरेरै नआउनु भएको होला ।

नेता दिलेन्द्र बडू कार्यक्रममा आएको भन्दै कोइराला नआएको कुरालाई अन्यथा लिन नहुने पोखरेलको भनाइ थियो । 

यद्यपि कार्यक्रममा बडूले कोइरालाको खोजी गरेको देखिन्थ्यो ।' कार्यक्रममा बोल्दा नेता बडूले कार्यक्रमको ब्यानरमा उत्साह, एकता र रूपान्तरण लेखे जस्तै समूहभित्र पनि त्यसको आवश्यकता औँल्याएका थिए ।

'हामीबिच एकता नहुँदा १४ औँ महाधिवेशनमा रूपान्तरण हुन सकेन । पार्टीमा उत्साह भएपछि मात्र एकता हुन्छ, एकताले मात्र रूपान्तरण सम्भव हुन्छ । एक नभएर रूपान्तरण गर्न सकिँदैन,' बडूले भनेका थिए । यस्तै नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वविरुद्ध सामूहिक मत लिएर उभिन नसकिएको भन्दै समूहको नेतृत्वमाथि नै प्रश्न उठाएका थिए ।

उनले भने, पहिले केन्द्रीय समिति बैठकमा सामूहिक मत लिएर जाने अभ्यास थियो । अहिले नेतृत्व (शेखर कोइराला)बाट त्यो अभ्यास पनि भएको छैन ।

यस्तै नेता प्रदीप पौडेलले नेतृत्व सान्दर्भिक छैन भनेर पार्टीभित्र वैकल्पिक नेतृत्वले तलदेखि माथिसम्म महसुस गराउन सक्नुपर्ने बताए थिए । कसैले गरिदिएर नेतृत्वमा पुग्छु भन्ने सोच राख्न नहुने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप