शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
वार्षिक प्रतिवेदन

एक वर्षमा ७६६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, एक अर्ब सतहत्तर करोड मागदाबी

सोमबार, १५ असोज २०८०, १७ : ४२
सोमबार, १५ असोज २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९/८० मा विशेष अदालतमा १६२ वटा मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार राष्ट्रपतिलाई पेश गरेको वार्षिक प्रतिवेदनमा ६५६ वटा उजुरी भने तामेलीमा राखिएको उल्लेख छ । यस्तै ६३ वटा सम्बद्ध निकायहरूलाई सुझाव दिइएको छ भने २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको प्रवक्ता भोला दाहालले जानकारी दिए । 

विशेष अदालतमा दर्ता भएका १६२ वटा आरोपपत्रमध्ये गैरकानुनी लाभ हानिसँग सम्बन्धित ६४ वटा, घुस/रिसवतसँग सम्बन्धित ३२ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित २७ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी १३ वटा, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ८ वटा, राजस्व चुहावटसम्बन्धी ७ वटा र विविध विषयका ११ वटा रहेका छन् । उल्लिखित आरोपपत्रहरूबाट कुल ७६६ जनालाई प्रतिवादी बनाई एक अर्ब, सतहत्तर करोड, अन्ठाउन्न लाख, छयालिस हजार, चार सय सैंतीस रुपैयाँ बिगो मागदाबी लिइएको दाहालले बताए ।

आर्थिक वर्ष २०७९/८० मा आयोगका ७८ वटा बैठक मार्फत कुल १२४६ वटा निर्णय गरिएको पनि उनले बताए । उनका अनुसार आयोगबाट विगत वर्षहरूमा विशेष अदालतमा दायर भएका आरोपपत्रहरूमध्ये आर्थिक वर्ष २०७९/८० मा ३४१ वटा मुद्दाहरूको फैसला प्राप्त भएको छ। जसमध्ये ११४ वटा अर्थात ३३.४३ प्रतिशत फैसलाहरूमा भ्रष्टाचारजन्य कसुर कायम भएको छ ।

सर्वोच्च अदालतको फैसलाबमोजिम रङ्गेहात कारवाहीमा आयोगले प्रमाणको लागि उपलब्ध गराएको रकममार्फत भएका कारबाहीसम्बन्धी मुद्दाहरू खारेज गरेको कारण कसुर कायम हुने अनुपातमा कमी आएको देखिएको दाहालले बताए । उनका अनुसार विशेष अदालतबाट भएका फैसलाहरूमध्ये आर्थिक वर्ष २०७९/८० मा २३७ वटा फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप