शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मर्करीमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सासम्बन्धी नीतिलाई अन्तरराष्ट्रिय पुरस्कार

मङ्गलबार, १६ असोज २०८०, १२ : ००
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल फ्युचर पोलिसी अवार्ड २०२३ बाट सम्मानित भएको छ । नेपाल सरकारलाई डेन्टल अमल्गम विधाअन्तर्गत मर्करीमा आधारित उपकरण र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने नीति २०२९ का लागि यो पुस्कार प्रदान गरिएको हो । 

यस पुरस्कारलाई उत्कृष्ट नीतिहरूलाई दिइने पुरस्कारहरूको ‘ओस्कर पुरस्कार’ पनि भनिन्छ । विश्वलाई प्रदूषणमुक्त बनाउनका लागि बनाइने नीतिहरूलाई नजिकबाट हेरी उत्पादन र अभ्यासहरूमा खतरनाक रसायनहरूको प्रयोगलाई नियमन गर्ने, बालबालिका र उनीहरूको वातावरणमा केन्द्रित रहेर सरकारले यो नीति कार्यान्वयनमा ल्याएको छ । 

पन्ध्र वर्षमुनिका बालबालिका, गर्भवती र स्तनपान गराउने महिलामा डेन्टल अमल्गमको प्रयोगमा तत्काल प्रतिबन्ध लगाउने र अन्य सबैमा जतिसक्दो चाँडो पूर्णतया उन्मूलन गर्ने लक्ष्य राखेको यो एसियाकै पहिलो नीति हो । यस वर्ष खेलौनासम्बन्धी कानुनमा भियतनाम, कस्मेटिकसम्बन्धी कानुनमा रुवान्डा र प्याकेजिङ वस्तुसम्बन्धी कानुनका लागि डेनमार्कलाई पुरस्कृत गरिएको छ ।

नेपालमा मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति, नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सन् २०१९ अगस्त २१ को मन्त्रिस्तरीय निर्णयले पारित गरेको थियो । यस नीतिले १५ वर्षमुनिका बालबालिका, गर्भवती र स्तनपान गराइरहेका महिलामा मर्करीको सम्पर्कबाट जोगाउनका लागि सबै मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गम प्रयोगमा तुरुन्त प्रतिबन्ध लगाएको थियो भने पाँच वर्षभित्र अन्य सबै उमेर समूहका मानिसमा पनि डेन्टल अमल्गम प्रयोगमा पूर्णतयाः प्रतिबन्ध लगाइएको छ । 

जर्मनीको बोन सहरमा हालै सम्पन्न केमिकल व्यवस्थापनसम्बन्धी पाँचौँ अन्तरराष्ट्रिय सम्मेलनमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले सो पुरस्कार ग्रहण गरेका थिए । सो अवसरमा उनले यस पुरस्कारले मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा नीतिको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । सम्मेलनमा नेपालले वैकल्पिक मर्करीमुक्त डेन्टल फिलिङको प्रयोग अपनाएर मर्करी प्रदूषणको जोखिमलाई उल्लेखनीय रूपमा कम गरेकामा प्रशंसा गरिएको थियो ।  

सो नीतिपछि मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने प्रयासहरू डिजिटल थर्मोमिटर, डिजिटल वा एनरोइड स्फिग्मोमानोमिटर र मर्करी मुक्त दन्त  फिलिङ्हरू जस्तैः जिआइसी, कम्पोमर र कम्पोजिट फिलिङ्जस्ता सुरक्षित मर्करी मुक्त विकल्पहरू सफलतापूर्वक प्रयोग भइरहेको यस क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) का कार्यकारी निर्देशक रामचरित्र साहले बताए । 
मर्करी विषाक्त भारी धातु हो । यसले विशेषगरी बालबालिका, गर्भवती र स्तनपान गराउने महिलाहरूमा धेरै नकारात्मक प्रभाव पार्दछ । डेन्टल अमल्गम तयार गर्न अन्य धातुको मिश्रणमा मर्करी मिसाइएको छ । वातावरण मन्त्रालयले मिनामाता मर्करी महासन्धिको तत्काल अनुमोदन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप