आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद बैठक

भूकम्पमा परी घाइते भएकाहरुको उपचार प्रदेश सरकारले बेहोर्ने निर्णय

बुधबार, १७ असोज २०८०, १३ : ५८
बुधबार, १७ असोज २०८०

धनगढी । भूकम्पमा परी घाइते भएकाहरुको औषधोपचार सुदूरपश्चिम सरकारले गर्ने भएको छ । मंगलबार बझाङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएका मानिसहरुको पूर्ण उपचार प्रदेश सरकारले गर्ने भएको हो ।

मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षता आज बसेको सर्वपक्षीय छलफलको निष्कर्ष अनुसार घाइतेको उपचार, उद्धार, खोज तथा प्रभावितहरूलाई आवश्यक राहत सामग्री एकद्वार प्रणालीमा वितरण गरिने भएको छ ।

भूकम्पका कारण २७ जना घाइते भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।  साथै खोज, उद्धार र राहत वितरणको सम्पूर्ण जिम्मेवारी पनि प्रदेश सरकारले लिने मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको छलफलमा, सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, राज्यमन्त्री गीतादेवी माल, प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडी, नेपाली सेनाका सुदूरपश्चिम पृतनापति, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरा, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, संयुक्त राष्ट्र सङ्घीय विकास साझेदार संस्था विश्व खाद्य संगठन, स्वास्थ्य संगठन र नेपाल रेडक्रस सोसाइटी र प्रदेशमा क्रियाशील गैरसरकारी संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बझाङमा भूकम्पपछि गएको पहिरोमा परेर एकजना महिलाले ज्यान गुमाएकी छिन् । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्  भने १८ जना घाइते भएका छन् । अछाममा पाँच जना, र बैतडी तथा बाजुरामा समान २÷२ जना घाइते भएका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

यस्तै बझाङमा एकसय ३५ संरचनामा क्षति पुगेको छ । थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति पुगेको छ भने जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्याल्य बझाङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप