बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रको सुझावले अर्थतन्त्रमा सुधार हुँदैछ : अध्यक्ष ढकाल

शुक्रबार, १९ असोज २०८०, १९ : ४०
शुक्रबार, १९ असोज २०८०

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्र निजी क्षेत्रले दिएका सुझावलाई सरकारले आत्मसाथ गर्दा सुधार आउन थालेको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ७० औं साधारणसभा उद्घाटन गर्दै ढकालले आफूहरुको सुझावअनुसार नीतिगत सुधार गरेपछि अर्थतन्त्रमा सुधार आउन थालेको जिकिर गरे ।  

उनले  नेपालमा अवसर र संभावना प्रचुर मात्रामा रहेको उल्लेख गर्दै सरकारले आम उद्योगी व्यवसायी र नागरिकमा मनोबल उच्च बनाउने भूमिका खेल्नुपर्नेमा जोड दिए । 

हालै मात्र नेपाल उद्योग वाणिज्य महासंघको ढोरपाटन बैठकले सातवटै प्रदेश सरकारसँग मिलेर सातै प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेकाले लगानीमैत्री वातावरण बनाउन सरकारी निकाय गम्भीर भएर लाग्न आग्रहसमेत गरे । 

उनले गौतमबुद्ध विमानस्थललाई लक्षित गरेर ठूला होटेलसहित पर्यटन क्षेत्रमा अरबौँ लगानी भएपनि पूर्ण क्षमतामा सञ्चालन नहुँदा लगानी जोखिममा परेकाले सरकार गम्भीर बन्नुपर्ने आग्रह गरे । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीनै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रमा देखिएका संकट समाधान गर्न सकिने भन्दै निराशाको सन्देश फैलाउन नहुनेमा जोड दिए । 

नेपाल उद्योग वाणिज्य महासंघकी एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवा शक्तिको विदेश पलायनले देशमा श्रमिक अभावको डरलाग्दो अवस्था आउन थालेकाले यसलाई रोक्नुपर्ने बताइन् । 

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीहरुले असोज मसान्तमा किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेकाले थप गर्न माग गरे । 

बुटवल उद्योग वाणिज्य संघको शनिवार मनोनयन दर्ता र  २२ गते  मतदान हुने कार्यतालिका रहेको छ । यहाँ दिनेश श्रेष्ठ र हरिप्रसाद अर्यालले छुट्टाछुट्टै प्यालन बनाएर मैदानमा जाने  घोषणा गरेका छन् । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप