सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अधिवेशन

मधेस प्रदेशमा एमाले अध्यक्षका आकांक्षी को–को ?

आइतबार, २१ असोज २०८०, १६ : ०३
आइतबार, २१ असोज २०८०

जनकपुरधाम । यही असोज २४ र २५ गते एमालेको मधेस प्रदेश अधिवेशन हुँदैछ । मुलुक संघीय संरचना गएपछि पहिलो पटक एमालेले प्रदेशस्तरीय अधिवेशन गर्दैछ । अधिवेशनको तयारी जोडतोडले हुँदैछ ।

एमालेले मधेस प्रदेशको अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मूल नाराका साथ हुँदैछ ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा नेकपा एमाले अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गर्नेछन् । अधिवेशनकै लागि मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराई पछिल्लो समय आठै जिल्लामा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

मधेस प्रदेशमा अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु पनि आफ्नो पक्षमा लबिङ गर्न थालेका छन् । केन्द्रीय नेताहरुले पनि यहाँको अधिवेशनलाई विशेष रूपमा लिएका छन् ।

२०८४ सालको निर्वाचनलाई मध्यनजर गर्दै मधेसमा आफ्नो कब्जा जमाउन यो अधिवेशनलाई एमालेले विशेष रूपमा लिएको छ । एमालेले मधेस प्रदेशका ८ जिल्लामा अधिवेशनका लागि प्रतिनिधि छनोट गरिसकेको छ ।

मधेस प्रदेशमा करिब ६० हजार पार्टी सदस्य छन् । यो प्रदेशका १ सय ३६ पालिका, २३ जनसंगठन, ८ प्रदेश विभागबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ । पालिकाबाट ३ देखि २३ जनासम्म, जनसंगठनबाट ७९ र विभागबाट १६ जना छनोट गरिएको एमालेका एक नेताले जानकारी दिए ।

प्रदेश अध्यक्षका लागि राजकिशोर यादव, लक्ष्मी नारायण यादव, चन्देश्वर मण्डल, बिचारी यादव र रेवती पन्त आकांक्षी देखिएका छन् । यादव धनुषा जिल्ला कमिटीमा दुई पटक अध्यक्ष भएर काम गरिसकेका छन् । वर्तमान जिल्ला अध्यक्ष उनी मधेस प्रदेश कमिटीसमेत पदेन सदस्य हुन् । यादव अब जिल्लाभन्दा माथि जाने प्रयासमा लागेका हुन् । उनलाई नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवको साथ छ ।

त्यस्तै लक्ष्मी नारायण यादव एक कार्यकाल धनुषा जिल्ला सचिव र एक कार्यकाल जिल्ला उपाध्यक्ष भएर काम गरेका छन् । उनी यो अधिवेशनमा प्रदेश अध्यक्ष पदका आकांक्षी बनेका हुन् । पार्टी अध्यक्ष केपी ओलीलाई सुख–दुःखमा साथ दिएको बताउने उनी पनि सरोजकुमार यादव निकट नै हुन् ।

अर्का नेता रेवती पन्त पनि सरोजकुमार यादवकै सहयोगमा उम्मेदवारी दिने चर्चा छ । यादवसँगको उनको पुरानो मित्रता रहेको बुझिन्छ । यसरी हेर्दा यी तीनै जनामध्येबाट एक जनालाई सहमतिमा अध्यक्ष बनाउन नेतृत्व तहले प्रयास गर्ने देखिन्छ ।

पन्त सर्लाहीका पूर्वअध्यक्ष हुन् । उनी नेकपा एमाले हुँदा दुई पटक र नेकपा हुँदा एक पटक जिल्ला अध्यक्षको रूपमा नेतृत्व गरिसकेका छन् । उनी वर्तमान मधेस प्रदेश कमिटीका उपाध्यक्षसमेत हुन् ।

यता पार्टीका केन्द्रीय सचिवसमेत रहेको रघुवीर महासेठले भने आफ्नो तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने तय गरिसकेका छैनन् । उनले बिचारी यादवलाई उम्मेदवार बनाउने सम्भावना छ ।

यस्तै प्रतिनिधिसभा सदस्य एवं पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठले पनि यो रेसमा आफ्नो उम्मेदवारलाई सहभागी गराउन चाहेका छन् । उनले चन्देश्वर मण्डललाई अघि सार्ने योजना बनाएको उनका निकटस्थहरु बताउँछन् । मण्डल सिरहाका वर्तमान अध्यक्ष हुन् ।

यी आकांक्षीमध्ये समग्रमा केपी ओलीकै निर्देशनमा अध्यक्ष चुनिने र सर्वसम्मत हुने सम्भावना रहेको नेताहरुको भनाइ छ ।

यो रेसमा सफल हुने सम्भावना बोकेका राजकिशोर यादव, लक्ष्मीनारायण यादव र रेवती पन्तले यसै साता अघिपछि गरेर पार्टी अध्यक्ष ओलीसँग भेटेर सहयोग मागेका छन् । नेकपा विभाजित हुँदा मधेसको ८ जिल्लामध्ये ७ जिल्लाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालतिर गए पनि राजकिशोर यादव  र लक्ष्मीनारायण यादव भने ओलीकै पक्षमा रहिरहे । यसरी हेर्दा पनि मधेस प्रदेशको सम्भावित अध्यक्ष उनीहरुमध्येबाट नै कुनै एक जना हुने चर्चा पार्टीभित्र छ ।

अर्कोतिर लक्ष्मीनारायण यादवले भने धनुषा जिल्ला अध्यक्षको बार्गेनिङ गर्नका लागि प्रदेश अध्यक्षमा दाबी गरिरहेको एमालेका एक नेताले बताए । उनका अनुसार यादवलाई जिल्ला अध्यक्ष दिने आश्वासन दिएमा उनी प्रदेशको रेसबाट ‘ब्याक’ हुनेछन् ।

मधेसमा यसरी हेर्दा पार्टीमा पछिल्लो दिनमा एउटा धारको नेतृत्व मधेस प्रदेश दलका नेता सरोजकुमार यादवले गरिरहेका छन् भने अर्कोतिर पार्टीको केन्द्रीय सचिव रघुवीर महासेठले गरिरहेको देखिन्छ ।

आकांक्षी करिब आधा दर्जन नेता कार्यकर्ता रहे पनि मधेस प्रदेशमा फरक किसिमले नेतृत्व छान्ने प्रयासमा रहेको पार्टीका एक नेताले बताए । ‘यहाँ अरु प्रदेशजस्तो हुँदैन । यो प्रदेशमा सर्वसम्मत नै हुन्छ । यहाँ दुई धार छ । एउटा मधेसमा मधेसीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने धारणा छ,’ पार्टी निकट एक जना प्रभावशाली नेताले भने, ‘अर्को धार चाहिँ जातपात होइन, संगठन हाँक्ने कुशल कार्यकर्तालाई अध्यक्षको जिम्मेवारी दिनुपर्छ भन्ने छ ।’

अधिकांश नेता र कार्यकर्ताचाहिँ संगठन र नेतृत्व हाँक्ने कार्यकर्तालाई अध्यक्ष दिइनुपर्छ भन्ने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकहाँ लबिङमा लागेको उनले बताए । उनका अनुसार नेतृत्व छान्न निर्वाचन प्रक्रियामा गए पार्टीका नेता र कार्यकर्ताबिच मनमुटाव हुन्छ । त्यसैले आउँदो २०८४ को चुनावलाई प्रभावित हुन नदिन पनि सर्वसम्मत नेतृत्व चयन गर्न दबाब बढेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप