शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलमा अलपत्र नेपालीको उद्धारको विषयमा छलफल चलाउन सभामुखसँग राप्रपाको माग

सोमबार, २२ असोज २०८०, १३ : २८
सोमबार, २२ असोज २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूची हटाएर इजरायलमा अलपत्र नेपालीहरूको उद्धारको विषयमा छलफल चलाउन माग गरेको छ । 

प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ः३० मा बस्ने गरी बोलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचीलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरूको उद्धारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो । 

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूची परिवर्तन गर्न माग गरे । इजरायलमा अलपत्र नेपालीहरूको उद्धारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने उनले बताए । 

सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘आजको नियमित संसद्लाई स्थगन गरेर इजरायलमा अलपत्र परेका मान्छेलाई उद्धार गर्नका लागि सदन चलाऔँ । आजको विषयवस्तु यही विषयवस्तु मात्रै राखौँ । कसरी मान्छेलाई त्यहाँबाट उद्धार गर्ने ? आज इजरायलमा मात्र होइन साउदी अरबमा, दुई, कतार, मलेसिया लगायत युरोपियन, दक्षिण अफ्रिकी देशहरू लगायत धेरै देशहरुमा अहिले नेपालीहरू अलपत्र परेका छन् । उनीहरूको उद्धारका लागि एउटा विशेष टिम सरकारले बनाउनुपर्छ । त्यो बनाउनका लागि संसद्बाटै आदेश जारी होस् । र आज चलिरहेको संसद्लाई नियमित कार्यसूचीलाई पछाडि राखेर आजको सदन विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि आजको सदन चलाऔँ । त्यही विषयमा सरकारलाई आदेश गरौँ ।’

सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग साझा रूपमा छलफल गरी बैठकको कार्यसूची तय गर्ने बताएको उनले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप