मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चैत मसान्तसम्म एमाले तन्दुरुस्त बन्छ : सचिव भट्टराई

मङ्गलबार, २३ असोज २०८०, १७ : ०१
मङ्गलबार, २३ असोज २०८०

जनकपुर । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रूपमा एमाले तन्दुरुस्त बन्ने बताएका छन् ।  मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अहिले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने बताएका हुन् । 

उनले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको पनि बताए । भट्टराईले नेकपा एमालेको मधेस प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए । 

उनले भने, ‘चाडपर्वहरू सम्पन्न गरेपछि हाम्रो जिल्ला अधिवेशन हुन्छ । त्यसपछि हाम्रो पालिका अधिवेशन हुन्छ । सबै देशभरका पालिकाको ७५३ वटाकै । त्यसपछि हाम्रो वडा अधिवेशन हुन्छ । देशभरका सबै वडाको । त्यसपछि टोल अधिवेशन हुन्छ । र चैत मसान्तसम्म पुग्दा एमाले तन्दुरुस्त हुन्छ । संगठनात्मक हिसाबले । यो हाम्रो अधिवेशन साल हो । मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक छ । एमालेको मुख्यमन्त्री चाहिन्छ । एमालेको सरकार चाहिन्छ । १३६ पालिका एमालेको प्रमुख चाहिन्छ । प्रधानमन्त्री एमालेको चाहिन्छ । मधेसमा भएको शक्तिको तागत बढाउन चाहन्छौँ । ६६ हजार २ सय पार्टी सदस्यलाई कुनै न कुनै हिसाबले सहभागी गराएका छौँ, यो अधिवेशनमा । पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिस्पर्धा गर्ने छुट छ । तर हामी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्नेछौँ ।’

एमालेले आफ्नो प्रथम मधेस अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मूल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो । जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधिहरुको सहभागिता रहने एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले बताए। उनले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रादेशिक समिति छनोट गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप