आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश किचलो

विश्वप्रकाशले कारबाहीको कुरा गरेपछि बालुवाटारमा जंगिए शेखर

शुक्रबार, २६ असोज २०८०, २१ : ५७
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रकरणले नेपाली कांग्रेसभित्र हलचल मच्चाएको छ । बिहीबार नेता शेखर कोइराला पक्षीय केदार कार्की एमालेसँग मिलेर कोशी प्रदेशमा गठबन्धनविरुद्ध उभिएपछि कांग्रेस नेतृत्वको सत्ता गठबन्धन सङ्कटमा छ । 

कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा कोशीको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । सत्ता गठबन्धनको सहमतिअनुसार माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेश गरेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज साँझ ६ बजेसम्मको समय सीमा भए पनि प्रदेश प्रमुख परशुराम खापुङले भोलि सनाखत गरेर मात्र नियुक्त गर्ने जनाएका छन् ।

कार्कीको दाबी फिर्ता गराउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिनभर प्रयत्न गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेल समूह पदीय मर्यादा भुलेर कोइरालालाई फोन गरी कार्कीको दाबी फिर्ता गराउन लागि परेका थिए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले केदार कार्कीको दाबी फिर्ता गराउन टेलिफोनबाट आग्रह गरे ।  कोइरालाले आफू ब्याक हुन नसक्ने उनीहरूलाई जवाफ दिए ।

कोइरालाको सन्देश बोकेर नेता ज्ञानेन्द्र कार्की देउवा निवास धुम्बाराही पुगे । त्ययसपछि सभापति देउवा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङदाम्बे र प्रमुख सचेतक रमेश लेखकलाई लिएर बालुवाटार लागे । प्रधानमन्त्री प्रचण्डले उनीहरुसँग कांग्रेस एकमत भए माओवादीका इन्द्र आङ्बोलाई दाबी फिर्ता गराउने बताए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड संसदतिर हिँडे भने कांग्रेस नेताहरू देउवा निवासतिर लागे । सभापति देउवासहितका नेताहरू दिउँसो २ बजे पूर्व महामन्त्री कृष्ण सिटौला, नेता कोइराला र मिनेन्द्र रिजाललाई लिएर बालुवाटार पुगे । 

नेता मिन विश्वकर्माका अनुसार बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले सर्वसम्मत नाम जसलाई अगाडि बढायो उसैको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका थिए । 

त्यसपछि देउवाले केदार कार्कीलाई उम्मेदवारी फिर्ता गर्न लगाएर नयाँ मान्छेको नाम दिन प्रस्ताव गरे । कोइरालाले देउवाको प्रस्ताव अस्वीकार गरे । प्रधानमन्त्री प्रचण्डले अन्तिममा एमालेसँगको सहकार्य तोडेको अवस्थामा केदार कार्कीलाई नै मुख्यमन्त्री बनाउने प्रस्ताव राखे । डा शेखरले कार्कीलाई मुख्यमन्त्री बनाएर मात्र गठबन्धनसँग संवादमा बस्ने भनेपछि बालुवाटारको छलफल विना निष्कर्ष टुङ्गियो ।

यही बीचमा देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइसकेका थिए । नेता मिनेन्द्र रिजालले कार्यसम्पादन समिति बैठक किन बोलाइएको भन्दै जिज्ञासा राखे ।

शीर्ष तहमा सहमति नगरी कार्यसम्पादन बैठक बोलाउन नहुने उनको तर्क थियो । महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा कारबाहीको कुरा उठेको भन्दै कार्यसम्पादन समितिको बैठक बोलाइएको आशय प्रकट गरे । महामन्त्री शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता कोइराला जंगिए । 

‘तपाई को हो कारबाही गर्ने ? के को कारबाहीको कुरा गरेको ? कसलाई कारबाही कारबाहीको कुरा गरे ? शर्माप्रति कोइराला आक्रोशित सुनिए । 

त्यसपछि बालुवाटारको छलफल भाँडियो । शर्माले कारबाहीको कुरा उठाएपछि प्याकेजमा सहमति गर्ने तयारी भाँडिएको कोइराला पक्षीय एक नेताले रातोपाटीलाई बताए ।

सभापति देउवा, महामन्त्री शर्मा, सहमहामन्त्री आङ्दम्बे, नेता सिटौला र लेखक कार्यसम्पादन बैठकका लागि धुम्बाराही हिँडे ।

शेखर कोइराला आफ्नो निवासतिर लागे । बैठकमा नआएपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोइरालालाई फोन गरे । शेखरले आफ्नो फोन सहयोगी दिनेश थपलियालाई उठाउन लगाएर आफूले कुरा गर्न चाहेनन् । त्यसको एक घण्टापछि मुख्यसचिव पौडेलले पुनः कोइरालालाई फोन गरे । कोइरालाको फोन उठेन । योबीचमा प्रधानमन्त्री प्रचण्डले कोइरालालाई बालुवाटार बोलाए ।

कोइराला नेता रिजाललाई साथमा लिएर प्रधानमन्त्री भेट्न साँझ पाँच बजेपछि बालुवाटार पुगे । तर, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देखाउँदै प्रधानमन्त्री प्रचण्डले छलफल गर्न उपयुक्त नभएको संकेत गरे । त्यसपछि नेता कोइराला र रिजाल संवादै नगरी फर्किए ।

यता कोइराला बैठकमा सहभागी नभएपछि कांग्रेसको कार्यसम्पादन समिति बैठक पनि विना निष्कर्ष टुङ्गियो । बालुवाटारमा सहमतिको वातावरण महामन्त्री शर्माले बिगारेको कोइराला पक्षको भनाइ छ । 

तर, गठबन्धनका अन्य दलहरू पहिल्यै सहमति भएबमोजिम कोशीको मुख्यमन्त्री कांग्रेसलाई दिन तयार भएपछि कोइराला सहमतिमा आउन नखोजेको कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ ।

‘उहाँहरूलाई शेखर कोइरालाले नै हस्ताक्षर गर्नका लागि सहयोग पुर्‍याएको भन्ने हाम्रो निष्कर्ष छ,’ नेता विश्वकर्माले भने, ‘अब गठबन्धन पनि जोगाउनु छ, कोशी प्रदेशमा मध्यावधि हुनबाट पनि जोगाउनुपर्नेछ । यी दुवै कुरालाई ख्यालमा राखेर गठबन्धन र पार्टीभित्र छलफल सुरु भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप