मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अक्सिजनमा अत्मनिर्भर हेटौंडा र भरतपुर अस्पताल

आइतबार, २८ असोज २०८०, २० : ५२
आइतबार, २८ असोज २०८०

मकवानपुर । २ वर्षअघि कोभिड–१९ संक्रमणका कारण देशभर नै अक्सिजनको अभाव देखियो । अस्पतालहरुमा अक्सिजन अभावका कारण बिरामीको उपचार प्रभावित हुन नदिन विभिन्न दातृ संस्थाले अक्सिजन सिलिण्डर सहयोगस्वरुप उपलब्ध गराए ।

महामारीको अवस्थामा देशको राजधानी काठमाडौँका अस्पतालमा समेत अक्सिजन अभाव भयो । मेडिकल सिटीको रुपमा परिचित चितवन पनि अक्सिजन अभावको संकटबाट अलग रहन सकेन ।

चितवनसँगै बागमती प्रदेशको राजधानी हेटौंडाका अस्पतालमा पनि अक्सिजनको अभाव देखियो । रातारात अस्पतालहरुले अक्सिजनको जोहो गरे । विभिन्न संघ संस्थाको सहयोगमा अक्सिजनका सिलिण्ड प्राप्त भयो भने केहीले अक्सिजन प्लान्ट नै स्थापना गरे ।

अहिले चितवनको भरतपुर अस्पताल र मकवानपुरको हेटौंडा अस्पताल अक्सिजनमा आत्मनिर्भर बनेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको भरतपुर अस्पतालमा कोभिड–१९ महामारीको समयमा एकै पटक ५० सिलिन्डर अक्सिजन प्रयोग हुन्थ्यो । त्यस समयमा अस्पताललाई अक्सिजन व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको थियो ।

तर, अहिले भरतपुरमा ३ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । दैनिक २५० सिलिन्डर उत्पादन गर्ने २ वटा प्लान्ट सञ्चालनमा छन् भने थप २० हजार लिटर लिक्विड अक्सिजन स्टोर गर्न अर्को प्लान्ट पनि सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

६०० शय्या क्षमताको उक्त अस्पतालमा केही दिन अघिमात्र गैर आवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा दैनिक १७५ सिलिन्डर उत्पादन गर्न सक्ने अक्सिजन प्लान्ट निर्माण भइ हस्तान्तरण भएको छ, जसका कारण अस्पताल अक्सिजनमा आत्मनिर्भर बनेको हो ।

हाल अस्पतालमा दैनिक १५० सिलिन्डर अक्सिजन खपत हुने गरेको सूचना अधिकारी पौडेलले बताए । अस्पतालको इर्मजेन्सी, आइसीयू, एनआइसीयू र पोष्टअप वार्डमा बढी मात्रामा अक्सिजन खपत हुने गरेको उनले बताए ।

यसअघि दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सञ्चालनमा रहे पनि लिक्विड अक्सिजन खरिद गरी स्टोर प्लान्टमा भरेर राख्नुपर्ने बाध्यता थियो । कोभिड–१९ को समयमा भरतपुर अस्पतालमा दैनिक २३० वटा सिलिन्डर बाहिरबाट खरिद गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

अक्सिजनमा आत्मनिर्भर बनेसँगै हाल अस्पतालको दैनिक ६१ हजार रुपैयाँ बचत हुने गरेको पौडेलले बताए । गत साउनमा मात्र अस्पतालले ५ लाख रुपैयाँ खर्च गरेर १८ हजार लिटर लिक्विड अक्सिजन खरिद गरेको थियो ।

यता मकवानपुरको हेटौंडा अस्पताल पनि अक्सिजनमा आत्मनिर्भर बनेको छ । अस्पतालमा रहेका ३ वटा प्लान्ट मध्ये २ वटा प्लान्टमात्र सञ्चालनमा रहेको अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताए । अस्पतालमा ३६ घनमिटर, ४० घनमिटर क्षमताको २ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् भने ४ घनमिटरको लिक्विड रिफिल प्लान्ट स्टकको रुपमा छ । सो प्लान्ट महामारीका समयमा मात्र सञ्चालन गर्नेगरी तयारी अवस्थामा रहेको उनले बताए ।

अस्पतालमा हाल दैनिक ५० वटा अक्सिजन सिलिण्डर खपत हुने गरेको र सो खपत पाइपलाइनबाट सबै वार्डमा पुर्याउने गरिएको प्रसाईको भनाइ छ । हाल ४० घनमिटर क्षमताको प्लान्ट २ वटा इन्जिनबाट सञ्चालन भइरहेको उनले बताए । सो प्लान्टको अक्सिजन अपुग भएको खण्डमा ३६ घनमिटर क्षमताको प्लान्ट सञ्चालन गर्ने गरिएको उनको भनाइ छ ।

प्रसाईका अनुसार अक्सिजन प्लान्ट सञ्चालन हुनुपूर्व ६०० रुपैयाँ प्रति सिलिण्डरका दरले अक्सिजन खरिद गर्नुपर्ने बाध्यता थियो । अस्पतालको केही वार्डमा अझै पनि पाइपलाइन विस्तार नभएकाले केही थान अक्सिजन सिलिण्डर खरिद गरेरै चलाउनु परेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप