सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा झिझिया नृत्यको रौनक, यस्तो छ महत्त्व

सोमबार, ०६ कात्तिक २०८०, २१ : ३०
सोमबार, ०६ कात्तिक २०८०

जनकपुरधाम । मधेसमा नवरात्रि सुरु भएसँगै लोक भाकाका झिझिया गीत गुञ्जिन थाल्छ । दसैँको आगमनसँगै मधेस प्रदेशको राजधानी जनकपुरधाममा रहेका विभिन्न देवीको मन्दिर बाहिर पन्डालमा साँझ महिलाले झिझिया नृत्य गर्दै आएका छन् ।

मिथिलाञ्चलमा प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ । यो नृत्यको धार्मिक महत्त्व छ । यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोक मान्यता छ ।

मैथिली साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडी भन्छन्, ‘दसैँका बेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्रको अनुष्ठान गर्छन् र सर्वसाधारणको ज्यान लिन सक्ने खालको शक्ति प्राप्त गर्छन् । त्यसैले यस्तो शक्तिको प्रतिवाद गर्न अर्को तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना हुने गरेको जनविश्वास छ ।’

घटस्थापनादेखि सुरु हुने भिझिया नृत्यको तयारी पनि विशेष हुन्छ । कापडीले झिझिया नृत्यको पूर्वतयारी बारे जानकारी दिँदै भने, ‘एउटा वा दुई वटा सफा घैँटो किनेर त्यसलाई सफा गरी घैँटोभरि प्वाल बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ ।’

यसरी टाउकामा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिने उनले बताए । बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्रसहित छेकबार गरिने उनको भनाइ छ ।

मन्त्रले छेकबार गरेपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिलाले टाउकामा आगो बलिरहेको घैँटो राखेर नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरे लगत्तै झिझिया औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घर घरमा गएर नृत्य देखाउने परम्परा छ ।

क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँटोलका पुरोहित इन्द्रकान्त झाका अनुसार झिझियामा भएको प्वाल तन्त्रमन्त्र गर्ने बोक्सी (डाइन)ले गन्न सफल भएको खण्डमा उनीहरू तन्त्र सिद्धि गरी निकै शक्तिशाली हुन सक्ने जनविश्वास छ । त्यसैले झिझिया टाउकोमा राखेपछि महिलाहरु घैँटोको प्वाल गन्न नभ्याउने गरी निरन्तर नाच्छन् । नाच सकिएपछि दियो निभाएर झिझिया राख्ने गरिन्छ ।

अवकास प्राप्त शिक्षक तथा मैथिली संस्कृतिका जानकार ८५ वर्षीय महेन्द्रनगरका रमापति चौधरी भन्छन्, ‘महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रुपमा लिइन्छ । झिझिया नृत्य घटस्थापनादेखि सुरु भई दसैँसम्म प्रदर्शन गरिन्छ । गाउँघरमा भिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन् ।’

प्रत्येकको घरघरमा गई सामूहिक नृत्य गर्ने र त्यहाँबाट घरधनीले कोसेली स्वरूप पैसा वा चामल, दाल सहयोग गर्ने चलन छ । भिझियालाई तन्त्रमन्त्र र जादुटोनाको परिचायक पनि मानिन्छ । तर अन्धविश्वासभन्दा पनि सांस्कृतिक उत्थानका लागि यसको संरक्षण आवश्यक रहेको शिक्षा तथा संस्कृतिविद चौधरी बताउँछन् । ‘यो मिथिलाको लोक महत्त्वको नृत्य हो । त्यसैले यसलाई अन्धविश्वासका रूपमा लिनुहुँदैन,’ उनले भने ।

यो नृत्य सातौंं शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतिका जानकारहरु बताउँछन् । झिझिया नृत्यको महत्त्वपूर्ण पक्ष यसको गीत हो । गीतको धुनसँगै झिझिया नृत्य सुरु हुन्छ ।

दसैँको आगमनसँगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया हो । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली पनि गरिन्छ । बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुने जनविश्वास छ । झिझियालाई आजको दिनमा धार्मिक आस्थासँग जोडेर राख्न असजिलो छ तर यसको लोक सांस्कृतिक पक्षलाई संरक्षण सम्बर्द्धन गर्नु उचित देखिन्छ ।

झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ । मिथिला नाट्य कला परिषदले नेपाल र भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा लिने गरेको छ ।

परिषदले केही वर्ष यता झिझियाको ५ सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ । जनकपुरधाम कै देवी चोकमा रहेको राजदेवी युवा क्लबले दसैँको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिता आयोजना गर्छ ।

दसैँकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ ।

गत शुक्रबार मैथिल संस्कृति, पहिचान जगेर्ना गर्न तथा प्रचारप्रसार गरी संसारभर पु¥याउने उद्देश्यले नयाँ युवा पिढीलाई जोड्ने प्रयास स्वरुप नव मिथिला फाउण्डेशनले जनकपुरधामको रेल्वे स्टेशनमा जनकपुर झिझिया फेस्टिवलको आयोजना गरेको थियो । फाउण्डेशनले आयोजना गरेको फेस्टिवलमा ५ सय महिलाले एकसाथ झिझिया नृत्य प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप