सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जुत्ता सिउने टीकारामको दसैँ

‘हाम्रा लागि के दसैँ दशा हो हजुर !’
मङ्गलबार, ०७ कात्तिक २०८०, १० : १७
मङ्गलबार, ०७ कात्तिक २०८०

सुर्खेत । वीरेन्द्रनगर बजारलाई दसैँको चहलपहलले छोपिसकेको छ । ६३ वर्षीया टीकाराम सार्कीका लागि दसैँ नआएको होइन, सधैँ दसैँ मान्दै आएका उनलाई गरिबीका कारण दसैँ दशाजस्तो लाग्ने रहेछ । 

बिहीबार (कात्तिक २) बिहान १० बज्नै लाग्दा टीकाराम वीरेन्द्रनगरको मंगलगढी चोकको पूर्वी उत्तर कुनामा जुत्ता सिलाउँदै थिए । खुला आकाशमुनि छाता गाडेर उनले जुत्ता सिलाउने गर्छन् । जुत्ता सिलाउने उनको पुख्र्यौली पेसा हो । यही चोकको दायाँबायाँ बसेर उनले जुत्ता सिलाउन थालेको तीन दशक पुग्न थाल्यो । यस चोकदेखि एक किलोमिटर पश्चिमको एरिचोकमा उनको डेरा छ । जहाँ उनी चार छोराछोरी र श्रीमतीसँग बस्छन् । 

वीरेन्द्रनगर नगरपालिका–२ जयपुरमा उनको घर र आफन्तहरु छन् । खासै कमाइ नभएकाले उनी यसपालि दसैँ मनाउन गाउँघरतिर नजाने सुरमा रहेछन् । किन नजाने दाइ ! दसैँ छैन र योपटक ? ‘अँ दसैँ हजुर, दसैँ भएर के गर्नु ! छाक टार्न धौ–धौ भएको बेला घर गएर खर्च मात्रै बढ्छ । गरिबका लागि केको दसैँ !’ उनले उदास भावमा भने, ‘छाक टार्नै धौ–धौ हुने हामी सर्वहारालाई के दसैँ, दशा पो हो ।’

पोहोर साल यति बेला कामले उनको हात खाली हुँदैनथ्यो । यसपालि ग्राहक नभएको उनको गुनासो छ । तीन हजार डेरा भाडा र परिवारको पालनपोषण गर्न उनले मासिक २०–२२ हजार रूपैयाँ कमाउनैपर्छ । एक जोर जुत्ता सिलाउँदा जुत्ताको अवस्था हेरी २० देखि ५० रूपैयाँसम्म कमाउँछन् । दिनमा उनले दुई सयदेखि पाँच सयसम्म कमाउँछन् । सधैँ एकनासको कमाइ नहुँदा साहुसँग उधारो ल्याएर खानुपर्छ । जीवनका ६३औँ वसन्त ढल्दै गर्दा पनि उनले आफ्नो पेसाबाट बचत गर्न वा केही जोड्न–किन्न सकेका छैनन् । 

‘धनीहरूका लागि पो दसैँ,’ उही कुरा पुनः दोहो¥याउँछन्, ‘हाम्रा लागि त दशा जस्तै हो । सामाजिक रूपमा दसैँले गरिबलाई झन् समस्यामा पार्छ । वरपरका धनीहरू खुसीसाथ रमाउँछन् । हामी केले रमाउनु !’

टीकारामले नयाँ लुगा नकिनेको वर्षौं भइसकेछ । गत वर्ष मंगलगढी चोकमै खटिएका एक प्रहरीले उनलाई आफ्नो पुरानो बर्दी दिएका थिए । अहिले पनि उनले त्यही लगाएका छन् । ‘नयाँ लुगा लगाउन, मिठो खान हामीसँग पैसा कहाँ छ र ?’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप