बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भारत र नेपालबिच आयुर्वेदमा थप सहकार्यको सम्भावनाबारे छलफल

शुक्रबार, १७ कात्तिक २०८०, ०९ : ५८
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँले आठौँ आयुर्वेद दिवसको पूर्वसन्ध्यामा आयुर्वेद क्षेत्रमा भारत र नेपालबिच थप सहकार्य सम्भावनाबारे छलफल कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै दूतावासका नियोग उप–प्रमुख  प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबिच रहेको सहकार्यबारे चर्चा गर्दै ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदानप्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवर्द्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराए ।

उनले यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’ सँग मेल खाने पनि बताए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गर्दै नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि लिएको पहलबारे प्रकाश पारे। 

डाबर नेपालका व्यवसाय प्रमुख  हरकिरत सिंह वेदीले उद्योगको धारणा व्यक्त गर्दै कसरी डाबरले नेपालबाट जडीबुटी सङ्कलन गर्न आपूर्ति शृङ्खलाको विकास गर्यो र त्यसले स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसरहरू प्रदान गरेको बताए । 

चिकित्सकको धारणा प्रस्तुत गर्ने क्रममा नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अंग भएको बताए । उनले नेपालमा यसको समृद्ध इतिहासबारे जानकारी गराए । 

भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धन्तेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ । सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौँ आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप