बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको महासमिति गोदावरीमा, यसकारण बैठक दुई साता सारियो

आइतबार, १९ कात्तिक २०८०, १७ : ०५
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठक ललितपुरको गोदावरीस्थित सिटी हलमा हुने भएको छ । बैठक मंसिर २९ देखि पुस २ सम्म हुनेगरी नयाँ मिति तय गरिएको छ ।

आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महासमिति बैठक दुई साता पर सारेको हो । यसअघि बैठक मंसिर १३ देखि १५ गतेका लागि तोकिएको थियो ।

कांग्रेस महामन्त्री गगन थापाका अनुसार शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण महासमिति बैठक सार्नु परेको हो । उसो त  हलको समस्याका कारण यसअघि नै पनि १०–१२ दिन महासमिति बैठक सार्ने तयारी थियो । 

   कांग्रेसले हाल आठ–दश दिनका लागि पार्टी पङ्क्तिलाई भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित गराएको छ । ‘यतिबेला हामी प्रतिवेदन फाइनल गर्नतिर लाग्थ्यौँ । मंसिर ७–८ मा बैठक राखेर प्रतिवेदन पारित गरेर छाप्नु पर्थ्यो ,’ उनले भने, ‘ आठ–दश दिन भूकम्पका कारण काम रोकियो । उता हलको पनि पनि समस्या थियो । २९ गते गोदावरीको सिटी हल पनि भेटियो ।’

महासमिति बैठकमा पेस गर्ने प्रतिवेदन लेखनको जिम्मेवारी पाएका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छन् ।
कांग्रेसले आइतबार भूकम्पबाट प्रभावितहरूलाई तत्कालै उद्धार, राहत र पुनर्स्थापनामा पार्टीका तर्फबाट व्यवस्थापन सहजीकरण गर्न महामन्त्रीहरूको संयोजकत्वमा समिति गठन पनि गरेको छ । सोमबार कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर भूकम्प क्षतिबारे ध्यानाकर्षण गराउने महामन्त्री थापाले बताए ।

महामन्त्रीद्वय नेतृत्वको समितिलाई विस्तार गरे आइतबारबाटैअनुगमन सुरु हुने उनको भनाइ छ । केन्द्रको अनुगमन समितिमा विज्ञसहित भूकम्प प्रभावित क्षेत्रका सांसद र केन्द्रीय सदस्य पनि रहने छन् । कर्णाली प्रदेशका सभापतिको नेतृत्वको समितिमा भूकम्प प्रभावित क्षेत्रका स्थानीय नेता–कार्यकर्तालाई राखिने उनले बताए । उक्त समितिले ८–१० दिन भूकम्प भावितहरूलाई तत्कालै उद्धार, राहत र पुनर्स्थापना सहजीकरण गर्ने महामन्त्री थापाले बताए । त्यसपछि कांग्रेस महासमिति बैठकको तयारीमा पुनः जुट्ने उनको भनाइ छ ।

कांग्रेसले महासमिति सदस्य छनोट गर्न बाँकी ४३ क्षेत्रीय कार्यसमितिलाई कात्तिक २४ का लागि डेडलाइन दिएको छ । निर्वाचित समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार अहिलेसम्म १२२ निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटको काम सकिएको छ । कांग्रेसको विधान अनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यस पटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहने छन् ।



कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसङ्ख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् ।

१६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ ।

कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन् । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ भन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

०७८ मङ्सिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधि मात्र चयन गरिएको थियो ।



महाधिवेशनताका महासमिति सदस्य चयन नभएपछि अहिले धमाधम निर्वाचन भइरहेको छ । कांग्रेसले केन्द्रमा पनि नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचन मात्रै गरेको थियो ।

६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले अहिले महासमिति बैठकमै आगामी नीति तय गर्न लागेको देखिन्छ ।

विधानले नीति महाधिवेशनको व्यवस्था नगरेको र सहभागी प्रतिनिधिको विषयमा जटिलता देखिएपछि कांग्रेसले महासमितिलाई नीति महाधिवेशनको विकल्पमा व्याख्या गरेको छ ।

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ । कांग्रेसले महासमिति बैठक राखेको गोदावरी सिटी हलमै २०७८ असोजमा एमालेले नीति अधिवेशन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप