जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह : जिम्मेवार सरकारको अनुभूति हुने गरी काम गर्नुहोला

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प प्रभावितहरूलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार जाजरकोट पुगेका राष्ट्रपति पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरूसँगको छलफलमा अहिले नै सबै कुरा सोचविचार गरेर काम गर्न ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दीर्घकालीन रूपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुकाउनेजस्ता गलत काम हुन सक्ने हुँदा त्यसबाट सचेत र सतर्क रहन पनि आग्रह गरे ।
‘तपाईँहरूको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्,’ राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
यसअघि राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन् । राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन् ।
भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला