आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई नेपालमा लगानी बढाउन प्रधानमन्त्रीको आह्वान

मङ्गलबार, २१ कात्तिक २०८०, १६ : ४२
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी)का प्रतिनिधिमण्डलले भेट गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेको हो ।

भेटवार्तामा नेपालको आर्थिक विकासमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवं विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भयो । सो अवसरमा प्रधानमन्त्रीले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरूलाई आग्रह पनि गरे । प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि नै भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीहरूलाई आग्रह गरे ।

नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको र नेपालमा लगानीका लागि अति नै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास उहांले सो अवसरमा दिलाए । महासंघका अध्यक्ष ढकालले ३७औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एसिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने थप स्पष्ट पारे ।

क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउन क्यासी तयार रहेको बताए । भेटवार्तामा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव डा. वैकुण्ठ प्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप