सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंक रिपोर्ट

दसैँ–तिहारले आयात बढायो, तीन महिनामा ४ खर्ब ७ अर्बको वस्तु आयात !

शुक्रबार, २४ कात्तिक २०८०, १४ : ५६
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । दसैँ–तिहार तथा छठ जस्ता मुख्य चाडपर्वले आयात बढाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा विदेशी वस्तु तथा सेवाको आयात १.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.२ प्रतिशतले कमी आएको थियो ।

शुक्रबार आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः २.४ प्रतिशत र ४२.४ प्रतिशतले वृद्धि भएको छ । तर सोही अवधिमा यता अन्य तेस्रो मुलुकतर्फको आयात भने २२.८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । 

वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बारतथा क्वाइल, रासायनिक मल, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्यात २.३ प्रतिशतले घट्यो

तर सोही अवधिमा निर्यात भने २.३ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको मात्र वस्तु तथा सेवा निर्यात भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५.७ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ९.४ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, अलैँची, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैँचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले वृद्धि भई रु.३६६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप