शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

युद्धभूमिका एभी र अस्लामहरू

शनिबार, २५ कात्तिक २०८०, ०८ : ५९
शनिबार, २५ कात्तिक २०८०

“बा बाहिर हेर्दै गर है,” अस्लामले भन्यो । चिन्ता नगर म छु, बाहिर पनि शान्त छ भन्दै बाबुले सान्त्वना दिन खोज्यो । केही दिनअघि मात्र रकेट आक्रमणबाट भाँचिएको खुट्टा झुन्ड्याएर अस्पतालको बेडमा सुतेको थियो । बमका छर्राहरू अझै शरीरमा छन् । ऊ अहिले संसारमा सबैभन्दा असुरक्षित ठाउँमा छ । उपचार गर्ने डाक्टर र बिरामीको  कतिबेला एउटै चिहान हुन्छ थाहा हुँदैन । 

“बा हिजो रकेट आउनुभन्दा पहिला एभीको फोन आएको थियो,” उसले आफ्ना बुबासँग भन्यो । 

“को, एभीको ?” उसको बुबाले भन्यो । 

“मेरो साथी थियो नि पर्खालभित्रको ।” उसले भन्यो । 

“भो तिनीहरूको कुरा नगर्,” रिसले उसको आँखा रातो भयो । 

उसले भन्दै थियो, यस पटक त उसको घरमा पनि रकेट खस्यो रे । तर सबै बाँचेका रहेछ्न् । उनीहरूलाई त सेनाले अर्को ठाउँमा सारेछ ।” छोराले भन्यो । 

“हाम्रो पनि सेना भएको भए हामीहरूलाई पनि सुरक्षित ठाउँमा लैजाने थियो,” उसले भन्यो । 

“बा यो लडाइँ कहिले सकिन्छ ?,” अस्लामले सोध्यो ।

पर क्षितिजमा हेरेर लामो स्वास फेर्‍यो र भन्यो, “पर्खालभित्रका अथवा बाहिरका सबै नसकिएसम्म लडाइँ सकिने अवस्था भएन बाबु ।” 

अस्लामले छ महिनाअगाडि नाका खुलेको बेला किनमेल गर्ने बेलामा बजारमा भेट्दा एभीले उपहार दिएको कलम खल्तीबाट निकालेर हेर्‍यो । के सम्झेर पुनः खल्तीमा राख्यो र सोध्यो  “बा यिनीहरू यो लडाइँ कसका लागि लड्दै छन् ?”

पोखरा–७, मासबार, कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप