आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दुर्व्यसनमा फसेका युवालाई समेटेर फूल तथा तरकारी खेती

आइतबार, २६ कात्तिक २०८०, २० : १४
आइतबार, २६ कात्तिक २०८०

मकवानपुर । दुर्व्यसनमा फसेर सुधार गृहमा आश्रित युवाहरुले तिहारका लागि आवश्यक मखमली र सयपत्री फूल उत्पादन गरेका छन् ।

मकवानपुरको हेटौंडा–९ स्थित सिआन पुनःस्थापना केन्द्रमा उपचार तथा परामर्शमा रहेका युवाहरुले तिहारका लागि लक्षित गरी रोपेको फूल अहिले तयार भएको छ । उनीहरुले उत्पादन गरेको फूल हेटौंडाका बजारमा बिक्री भइरहेको छ ।

उनीहरुले उत्पादन गरेको सयपत्री फूल प्रति मुठा ५० रुपैयाँ र मखमली प्रति मुठा ७० रुपैयाँमा बिक्री भइरहेको छ । सिआन पुनःस्थापना केन्द्रको साढे ७ कट्ठा क्षेत्रफलमध्ये करिब २ कट्ठामा परीक्षणका लागि फूल लगाइएको सिआनका सञ्चालक सौजन डीसीले बताए ।

लागु औषध प्रयोग गरेर विभिन्न समस्या भोग्दै आएका युवालाई सुधारात्मक उपचारका लागि रचनात्मक शैलीका काममा लगाउने उद्देश्य अनुसार फूलखेतीमा प्रयोग गरेको उनको भनाइ छ । युवाहरुलाई उत्पादनमा जोड्दै जीवनको महत्त्व बुझाउनका लागि आफूहरुले पहल गरेको उनले बताए ।

यस वर्ष करिब २ हजार फूलका बिरुवा रोपेकोमा २१ हजार रुपैयाँको फूल बिक्री गरिएको डीसीको भनाइ छ । सिआनमा हाल ६६ जना युवाले उपचारात्मक सेवा लिइरहेका छन् । उनीहरुलाई विभिन्न संघ संस्थासँगको सहकार्यमा सिपमूलक तालिम दिने तथा कृषिकर्ममा प्रयोग गर्ने प्रयत्न भइरहेको उनको भनाइ छ ।

सिआनमा आश्रित युवाहरुलाई प्रयोग गरेर आफ्नै प्रयोग र बिक्री वितरणका लागि तरकारी खेती सुरु गरिएको डीसीले बताए । २५ हजार रुपैयाँ लागतमा सिआनले सो जग्गामा काउली, धनिया, टमाटर, सिमी लगायतका तरकारी रोपेको जानकारी उनले दिए ।

गत असोजमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट भएको अनुगमनका क्रममा सिआन जिल्ला कै राम्रो सुधार गृह तथा पुनःस्थापना केन्द्र बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप