शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षभरिमा लगानीकर्ताहरुले सेयर बजारबाट १ खर्ब ८८ अर्ब कमाए !

सोमबार, २७ कात्तिक २०८०, १५ : ५०
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । गएको एक वर्षमा बजारबाट सेयर लगानीकर्ताहरुले १ खर्ब ८८ अर्ब बढी नाफा कमाएका छन् । केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २६ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ बराबर रहेको मार्केट क्यापिटलाइजेशन चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा बढेर २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो । 

यसअवधिमा नेप्से सूचक भने जम्मा ६.२९ अंकले मात्र वृद्धि भएर १८६४.३३ अंकमा पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्म यस्तो नेप्से सूचक १८५८.३३ अंक रहेको थियो । 

२०८० असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८७ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । २०७९ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २४२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ । 

त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत,उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असोज मसान्तमा सूचीकृत ७ अर्ब ८४ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब ७२ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को तीन महिनामा ३२ अर्ब ३ करोड रुपैयाँ बराबरको साधारण सेयर, २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बोनस सेयर र १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ३५ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर थप धितोपत्रमा सूचीकृत भएको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर, २ अर्ब ५० करोड रुपैयाँ बराबरकोम्युचुअल फण्ड, २ अर्ब ३३ करोड रुपैयाँ बराबरको साधारण सेयर र १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरीकुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप