बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
एकदिवसीय विश्वकप

सेमिफाइनलमा शतक बनाउँदै विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

बुधबार, २९ कात्तिक २०८०, १७ : २७
बुधबार, २९ कात्तिक २०८०

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । १० दिनअघि उनले ३५औँ वर्षमा पाइला टेकेकै दिन अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका थिए । 

कोहलीले आईसीसी एक दिवसीय विश्वकपअन्तर्गत बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलका क्रममा सचिनको कीर्तिमान तोडेका हुन् । विराटले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको शतक संख्यालाई उछिनेका हुन् ।  

बुधबार न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको शतक सँख्या ५० पुगेको छ । विराटले दुई सय ९१ एक दिवसीय खेलको दुई सय ७९ पालीमा ५० शतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् ।

सचिनले भने सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा शतक बनाएका थिए । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले शतक बनाएका हुन् । उनले खेलको ४१.४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै शतक पुरा गरेका हुन् ।  

कोहलीले हालसम्म टेस्ट क्रिकेटमा पनि २९ वटा शतक प्रहार गरेका छन् । सचिनले भने टेस्ट र एक दिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा शतक बनाएका छन् । सचिनले एक दिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा शतक बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप