बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाबर आजमले भने-राजीनामाकाे निर्णय लिन कठिन थियो, टोलीमा रहिरहन्छु

बिहीबार, ३० कात्तिक २०८०, १४ : ५२
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका बाबर आजमले आगामी दिनमा पनि आफू खेलाडीको भूमिकामा भने सक्रिय रहने बताएका छन् । उनले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले चयन गर्ने नयाँ कप्तानलाई आफ्नो पूर्ण समर्थन रहने पनि बताएका छन् । 

पाकिस्तानी टोली भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिएपछि बाबर आजमले कप्तानको जिम्मेवारीबाट राजीनामा दिएका थिए । उनले पाकिस्तानी टोलीको सबै ढाँचाको कप्तान पदबाट राजीनामा दिएका हुन् । 

‘मेरो विचारमा कप्तानको भूमिकाबाट बिदा लिने यो सबैभन्दा उपयुक्त अवसर हो । मेरा लागि यो निर्णय लिनु निकै कठिन थियो । कप्तानको जिम्मेवारीबाट बिदा लिए पनि म खेलाडीको भूमिकामा भने पाकिस्तानी टोलीमा सक्रिय रहने छु । नयाँ आउने कप्तानलाई पनि मेरो पूर्ण रुपमा साथ र समर्थन रहने छ,’ बाबर आजमले भनेका छन् । 

जारी विश्वकपमा पाकिस्तानले खासै गतिलो प्रदर्शन गर्न सकेन । पाकिस्तान एकदिवसीय विश्वकपको पूर्वविजेता राष्ट्र पनि हो । यो विश्वकपको प्रारम्भिक चरणमा आफूले खेलेका नौमध्ये चार खेलमा मात्र पाकिस्तानी टोलीले जित हासिल गर्न सक्यो । 

बाँकी पाँच खेलमा पाकिस्तानी टोली पराजित भएको थियो । पाकिस्तानी टोली चिर प्रतिद्वन्द्वी भारतसँगै अस्ट्रेलिया, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्यान्डसँग पराजित भएको थियो । विश्वकपमा गरेको निराशाजनक प्रदर्शनलाई लिएर पाकिस्तानी टोलीका कप्तान बाबर आजमको व्यापक विरोध हुँदै आएको छ । उनले विश्वकपको नौ खेलमा कुल तीन सय २० रन बनाएका थिए । 

‘सन् २०१९ मा पीसीबीले मलाई कप्तानको जिम्मेवारी दिइएको क्षण म अहिले पनि सम्झिरहेको छु । यो चार वर्षको अवधिमा मैले धेरै उतार—चढावको सामना गरेको छु । तर, हरेक क्षणमा मेरो ध्यान भने पाकिस्तानी टोलीको स्तर बृद्धिमै केन्द्रित रह्यो । एकदिवसीय वरीयताको पहिलो स्थानसम्म पुग्दाको क्षण पनि मलाई सम्झना भइरहेको छ । यो सम्पूर्ण साथीहरुको प्रतिबद्धताका कारण नै यो उपलब्धि सम्भव भएको थियो,’ उनले भनेका छन् । 

बाबर आजमको स्थानमा पीसीबीले कसलाई कप्तान बनाउने भन्ने निर्णय आइसकेको छैन । तर, सान मसुदलाई कप्तानको जिम्मेवारी दिन सक्ने प्रबल सम्भावना रहेको समाचारमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप