आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी-नेसपा एकता : पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमति नजिक

आइतबार, ०३ मङ्सिर २०८०, १५ : २७
आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी(नेसपा)बीच एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्न सकारात्मक छलफल भएको छ ।  आइतबार दुई पाटीका वार्ता टोलीबीच भएको छलफलमा नेकपा कायमै राखेर समाजवादी फुर्को थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाका वार्ता टोली संयोजक संयोजक गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टी एकता संयोजन समितिमार्फत  पार्टीको वैचारिक तथा नीतिगत सुझाव, झण्डा, नाम लगायत विषयमा आवश्यक सुझाव दिएर अगाडि बढ्ने सहमति भएको छ । 

‘दुवै पार्टीको वार्ता  टोलीबीच भएको छलफलमा माओवादी केन्द्र नाम हटाएर एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्नेगरी सहमति नजिक पुगिएको छ । त्यसका लागि पार्टी एकता संयोजन समितिमार्फत पार्टीको नाम झण्डा, वैचारिकत तथा नीतिगत विषय टुंगो लगाउने सहमति भएको छ’, उनले भने ।

यस्तै माओवादी केन्द्रको वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले आवश्यकताअनुसार एकता संयोजन समिति गठन गर्न सहमति भएको बताए । यसैगरी उनले विशेष महाधिवेशनमार्फत माओवादी केन्द्र शब्द हटाउन तयार भएपनि नेकपा शब्द भने नहटाउने पहिल्यै निर्णय भइसकेको बताए । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिने भन्दै उनले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) बनाउन सकिनेबारे सकारात्मक प्रतिक्रिया दिए । 

‘दुवै पार्टीको वार्ता टोली बैठकले पार्टीको नाम, झण्डा, वैचारिक तथा नीतिगत दस्तावेज लेखनका लागि अन्तिम रुप दिन एकता संयोजन समिति बनाउन सुझाव दिने सहमति भएको छ । नेकपा हाम्रो बटम लाइन हो । बाँकी विषयमा एकता संयोजन समिति बनाएर टुंग्याउन सकिन्छ’, पोखरेलले भने । 

यद्यपि नेकपा शब्द कायमै  राख्ने विषयमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले भने असहमति जनाएका छन् । यसै विषया पार्टीभित्र विवाद भएपछि उनले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । 
अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ, महासचिव रमेश यादव लगायत  नेताहरू पूर्वसहमति अनुसार पार्टी एकताका पक्षमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप