मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपामा नयाँ अभ्यास : घरदैलो अभियानमा जनताबाट के आयो सुझाव र माग ?

हामी घरदैलोमा जाँदा जनता आश्चर्यमा पर्नुभयो : उपसभापति अर्याल
बुधबार, ०६ मङ्सिर २०८०, १४ : ४१
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर २ देखि ४ गतेसम्म ‘घरदैलो अभियान’ गरेर नयाँ अभ्यासको सुरुवात गरेको छ । आम निर्वाचन भएको एक वर्षमा ‘जनकेन्द्रित राजनीतिको आधार : घरदैलोमा जनतालाई आभार !’ नारासहित रास्वपा जनतामाझ पुगेको हो ।

रास्वपाका २१ जना सांसद, केन्द्रीय सदस्य, आम निर्वाचनका उम्मेदवार र पार्टीपंक्ति घरदैलो अभियानमा सहभागी भएका थिए । मधेस प्रदेशमा छठ पर्व परेको र जाजरकोट, रुकुम पश्चिम लगायत भूकम्प प्रभावित जिल्लामा घरदैलो अभियान केही गाह्रो भएको रास्वपाको भनाइ छ ।

रास्वपाका सांसदहरुले आफ्नो एक वर्षको रिपोर्ट कार्ड पनि जनतालाई बुझाएका छन् । जसमा संसद सञ्चालनको एक वर्षमा आफूहरुबाट भए–गरेका कामको फेहरिस्त थियो ।

घरदैलो अभियानमा तीन वटा प्रश्न लिएर उनीहरु जनतामाझ पुगेका थिए । रास्वपाका नेताहरुको हातमा ‘तपाईंको विचारमा हाम्रा कमीकमजोरी के हुन्, हाम्रा लागि तपाईंका सुझाव के छन् र आफ्नो क्षेत्रमा तपाईंले देख्नुभएको तीन मुख्य समस्या के के हुन्’ भन्ने प्रश्नसहितको फारम थियो ।

घरदैलोमा ती प्रश्नको जवाफ के आयो र अभियान कस्तो रह्यो भनेर हामीले रास्वपाका नेताहरुलाई सोध्यौँ । धादिङ–२ को घरदैलो अभियानबाट फर्किएका रास्वपा उपसभापति डीपी अर्यालले आफूहरुको नयाँ अभ्यासबाट जनता आश्चर्यमा परेको सुनाए । ‘हामी घरदैलोमा जाँदा जनता आश्चर्यमा पर्नुभयो । नेताहरुले चुनावको बेला बाहेक घरदैलो गरेर जनताका गुनासो सुन्ने अभ्यास अहिलेसम्म रहेनछ । चुनावपछि पनि जनताको घरदैलोमा जानुपर्ने रहेछ भन्ने महसुस भयो,’ उनले भने ।

manish jha

अभियानका क्रममा एक वर्ष सदन चल्दै गर्दा भएका कामको लिखित रुपमा रिपोर्ट दिएर जनतासँग सुझाव मागिएको उनको भनाइ छ । ‘इमेल, ह्वाटस एप र लिखितरुपमा सुझाव पठाउन अनुरोध पनि ग¥यौँ,’ उनी भन्छन्, ‘जनता हामीसँग आशावादी हुनुहुन्छ । रास्वपाले केही गर्छ कि भन्ने जनतामा छ । यसले उत्साह थपेको छ ।’

जनतालाई कुन काम कुन तहबाट हुन्छ भनेर बुझाउन नसकेको पाइएको उनको भनाइ छ । ‘वडाबाट हुने काम पनि नागरिकहरु हामीबाट अपेक्षा राख्नुहुन्छ । नागरिकले हामीसँग राखेका सबै अपेक्ष पूरा गराउने गरी पार्टी अगाडि बढ्छ,’ अर्याल भन्छन् ।

उनका अनुसार घरदैलो अभियानका क्रममा नागरिकले राखेका माग सम्बोधनका लागि रास्वपा आन्तरिक तयारीमा लागिसकेको छ ।

यस्तै रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले घरदैलो अभियान प्रभावकारी भएको बताए । भक्तपुर–२ मा तीन दिन घरदैलो गरेपछि उनले भने, ‘राजनीतिक दलहरु निर्वाचनको बेलामात्र घरदैलोमा जाने र त्यसपछि नागरिकका कुरा नसुन्ने प्रवृत्ति थियो । पहिलो पटक नेपालको राजनीतिमा रास्वपाले निर्वाचन पछाडि घरदैलो ग¥यो । नागरिकले हामीसँग खुलेर आफ्नो गुनासा राख्नु भयो ।’

आफ्ना कमी–कमजोरीसहित नागरिकहरुको सल्लाह र सुझाव पनि लिएको उनको भनाइ छ । साथै नागरिकले उठाएका मुद्दालाई संसद र सरकारसमक्ष राख्ने उनले बताए ।

‘घरदैलोका क्रममा नागरिकहरुले सुशासन कायम गर्नुप¥यो, किसानलाई मल, बिउबिजन चाहियो, नेपालमै रोजगारीको सिर्जना कहिले हुन्छ भन्ने कुरा राख्नु भएको छ,’ परियार भन्छन्, ‘यो असाध्य प्रभावकारी भएको छ । यसलाई सँगालेर हामीले प्रतिवेदन बनाउछौँ । यी मुद्दा रास्वपाले आगामी दिनमा संसद र सरकारसमक्ष प्रस्तुत गर्छ ।’

shantosh pariya

काठमाडौँ–९ को घरदैलो अभियानमा सहभागी सांसद असीम शाहले यस्ता अभियानबाट नागरिक र जनप्रतिनिधिको सम्पर्क बढाउने बताए । ‘हामीले संसदमा उठाएको आवाजलाई नागरिकले राम्रो मूल्याङ्कन गरिराख्नु भएको पायौँ,’ उनले भने, ‘संसदमा तपाईंको उपस्थिति सानो भए पनि आवाज उठाउन नछोड्नुस् । २०८४ मा यिनीहरुलाई ठिक पार्नुपर्छ भन्नु भएको छ ।’

नागरिकहरुले अभियानका क्रममा सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत माग नै राखेको उनको भनाइ छ ।

सांसद विनिता कडायत घरदैलो अभियानका लागि गृहजिल्ला जुम्ला पुगेकी थिइन् । उनी भन्छिन्, ‘निर्वाचन नआउँदै नेताहरु घरघर आए भनेर जुम्लामा अचम्म मान्नु भयो । हाम्रो कुरा सुनिदिन आउनु भयो भनेर खुसी पनि हुनुभयो ।’

जुम्लाका नागरिकले खानेपानी, औषधिको अभाव र बाटोको एकदम समस्या सुनाएको उनले बताइन् । जुम्लाको कृषिजन्य वस्तुको बजारीकरणमा ठुलो समस्या रहेको भन्दै उनले संसदको कृषि समितिमार्फत उक्त समस्याको सम्बोधनका लागि पहल गर्ने बताइन् ।

सांसद मनिष झाले छठ पर्वका कारण मधेसमा घरदैलो अभियान सोचे अनुसार प्रभावकारी नभएको सुनाए । ‘छठ पर्व र हाम्रो घरदैलो अभियान सँगसँगै भयो । मानिसहरु छठको रमझममा हुँदा राजनीतिक गफगाफ कम हुन पुग्यो,’ उनले भने ।

binita kadayat

धनुषा–३ को घरदैलो अभियानमा सहभागी झाले मधेसमा रास्वपाप्रति आकर्षण भने बढ्न थालेको दाबी गरे । जनता समाजवादी पार्टी र जनमत पार्टीप्रति अपेक्षा राखेकाहरू रास्वपातिर ढल्किन थालेको उनको दाबी छ । झाका अनुसार पुराना पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीप्रतिको मोह भङ्ग नभए पनि आकर्षणसमेत बढेको छैन ।

‘पुराना दलसँगको अट्याचमेन्ट कायमै छ । जसपा र जनमतप्रति जति अपेक्षा गरिएको थियो, त्यो नभेटिएपछि अब हाम्रालागि रास्वपा नै हो कि भन्ने धारणा नागरिकमा देखिन्छ,’ उनी भन्छन् ।

उनका अनुसार यसअघि रास्वपा पहाड केन्द्रित राजनीतिक पार्टी भन्ने थियो । ‘मधेसका लागि जसपा र जनमत हो भन्ने नागरिकमा अहिलेचाहिँ मधेसका लागि पनि रास्वपा नै उपयुक्त होला जस्तो छ भन्ने मत पाइन्छ,’ उनले भने ।

अभियानका क्रममा चासो, चिन्ता, सुझाव र सकारात्मक आलोचनासहित नागरिकको उत्साहपूर्ण सहभागिता रहेको उनको भनाइ छ ।

उपसभापति ढकाल पनि घरदैलो अभियानले उत्साह थपेको भन्दै पार्टीको समीक्षा बैठक तयारी भइरहेको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप