सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
दुर्गा प्रसाईंकाे आन्दोलन

बल्खुबाट गणतन्त्रमाथि दुर्गा प्रसाईंको धावा : सिंहदरबार र संसद् भवन कब्जाको घोषणा !

आक्रामक अभिव्यक्तिले खलबलियो बल्खुको शान्तिपूर्ण माहौल
बिहीबार, ०७ मङ्सिर २०८०, १६ : ३८
बिहीबार, ०७ मङ्सिर २०८०


काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालको ब्यानरमा भएको प्रदर्शनमा एकाएक अशान्ति मच्चिन पुगेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वान भएको उक्त प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि बिहीबार दिनभर प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडपको अवस्था उत्पन्न भएको हो । 

राजधानीको विभिन्न स्थानबाट र्‍यालीसहित तोकिएको स्थान बल्खुमा भेला भएका प्रदर्शनकारीहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेपनि प्रसाईं आएर आक्रामक भाषण गरेसँगै एकाएक माहौल खलबलिन पुगेको हो । 

त्यसपछि प्रदर्शनकारीहरुले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि दुई पक्षीय झडपको अवस्था बनेको बताइएको छ । प्रदर्शनकारीहरुले सिंहदरबार घेर्ने भन्दै प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ अघि बढ्न खोजेपछि दिउँसो एकाएक झडपको अवस्था निम्तिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीलाई प्रदर्शनकारीले ढुङ्गा प्रहार गरे भने प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेर अवस्थालाई नियन्त्रण लिने प्रयास गरिरह्यो । यो अवस्था पटक पटक निम्तिँदा अपराह्न सम्म बल्खु क्षेत्र तनावपूर्ण बन्न पुगेको हो ।  सो क्रममा प्रहरी र प्रदर्शनकारीतर्फ नै केही व्यक्ति घाइते भएको बताइए पनि यो समाचार तयार पार्दासम्म आधिकारिक रूपमा विवरणहरू प्राप्त हुन सकेको छैन । प्रहरीले घटनामा भएको विवरण संकलनमै रहेको प्रारम्भिक प्रतिक्रिया दिएको छ।  

प्रसाईंले के भनेका थिए ?

दिउँसो १ बजेपछि दलबलसहित बल्खु पुगेका प्रसाईंले सम्बोधनका क्रममा आक्रामक अभिव्यक्ति दिए । उनले प्रदर्शनकारीलाई उत्तेजित बनाउँदै वर्तमान व्यवस्थाको तेजोबोध गर्ने प्रयास गरे । सुरुमै उनले देशमा बस्ने वातावरण नभएको भन्दै दसैँको अष्टमीको दिन पनि नेपालीहरू विदेशमा श्रम गर्न जान बाध्य भएको यथार्थ प्रस्तुत गरे । उनले भने , ‘हामीले रुँदै झोला बोकेर दसैको अष्टमीको दिन देश छोड्नु परेको छ । म यसको अन्त्य गर्न चाहन्छु । म त्यसै बोलेको होइन, मभित्र ठुलो पीडा छ ।’

उनले आफू म दुर्गा मातालाई साक्षी राखेर यहाँ आएको भन्दै मर्न तयार रहेको तर नभाग्ने बताए । ‘दुर्गा मातालाई साक्षी राखेर म तपाईँहरुको अगाडि मर्न आएको छु । म मर्न तयार छु । म भाग्न तयार छैन’, प्रदर्शनकारीलाई उकास्दै उनले भने, ‘म भाग्दिनँ । तपाईँहरुका छोराछोरीलाई यो देशमा फर्काएर यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ ।’

उनले संघीयता नचाहिने भन्दै आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको जिकिर गरे । उनले नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका,लण्डनलगायतका देशमा लगानी रहेको दाबी गर्दै भने, ‘हाम्रो देश त्यसै टाट पल्टेको होइन । म प्रचण्डलाई राम्ररी चिन्दछु । तपाईँ सरेन्डर गर्नुस्, जनताकहाँ आउनुस् ।’

उनले एमाले अध्यक्ष केपी ओलीको पनि कडा आलोचना गरे । एमालेले युवा संघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको संगीन आरोप समेत प्रसाईँले लगाए ।  उनले  ‘यही काण्ड राधिका शाक्यलाई परेको भए के गर्नुहुन्थ्यो हजुरबुबा ?’ भन्दै कटाक्ष समेत गरे ।  

उनले नेपालमा विद्रोहको विरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउनेसम्मको अराजक अभिव्यक्ति दिए । प्रसाईँले बोल्दा आन्दोलनकारीहरूले चर्को नाराबाजी गर्दै अघि बढ्न थालेपछि माहौल बिग्रिन सुरु भइसकेको थियो । यतिमात्रै नभई  उनले सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्नेसम्मको अभिव्यक्ति दिए । यस्तै प्रसाईँले देश नै ठप्प बनाउनेसम्मको पनि दिन पछि परेनन् । उनले आजदेखि गणतन्त्र सकिएको र जनताको तन्त्र आउने अभिव्यक्ति दिएर माहोललाई थप उत्तेजित बनाउने प्रयास गरेका थिए । 

सिंगो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि धावा बोलेका प्रसाईं र उनका समर्थकहरूको अभिव्यक्ति र व्यवहार समाजलाई भड्काउने र वितृष्णा फैलाउँदै अराजकतातर्फ धकेल्ने खालको भएको परिवर्तनकारी शक्तिहरूको बुझाइ छ। त्यसमाथि आन्दोलन मियो बिनाको दाइँजस्तो बन्दा प्रसाईँ आफैले बोल्दासमेत होहल्ला र नाराबाजी भएपछि उनी भाषण छोट्याउन बाध्य भएका थिए ।  तर, प्रसाईँले आफू नेतृत्वको आन्दोलन सुरुवातमात्रै भएको भन्दै निरन्तर जारी रहने चेतावनी दिन छाडेनन् ।  एकातिर प्रसाईं पक्ष आक्रामक बनिरहने र सरकार मौन बसि त्यस्ता गतिविधिलाई छुट दिइरहने हो भने विधिको शासन, संविधान थप कमजोर र निष्क्रिय बन्ने खतरा नहोला भन्न सकिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप