सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रसाईं र युवासंघको प्रदर्शन अनुगमन : प्रहरीको सुरक्षा घेरा तोड्न खोज्दा बल्खुमा झडप

बिहीबार, ०७ मङ्सिर २०८०, १७ : १३
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ ।  राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँद्वारा काठमाडौँमा आयोजित छुट्टाछुट्टै प्रदर्शनको अनुगमन गरेको छ । आयोगका सदस्य नेतृत्व सहितका चार वटा टोलीले उपत्यकाको दिनभर अनुगमन गरेको हो । 

अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ ।  बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूह बिच झडप तथा ढुंगा र इट्टा प्रहार भएको आयोगले जनाएको छ । 

आयोगका अनुसार प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोज्दा झडप भएको हो भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीका फोहरा प्रहार गरेको जनाइएको छ । सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । 

‘प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरुमा पठनपाठन अवरुद्ध रहेको, उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्वाध रुपमा पेशा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र र सुरक्षित रुपमा आवतजावत गर्न नपाएको हुँदा यसबाट नागरिकको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगको अनुगमनबाट देखिएको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ ।  आयोगकासदस्य नेतृत्वको टोलीद्वारा रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पुगी प्रहरीका उच्च पदस्थ अधिकारीहरुसँग सुरक्षा अवस्था बारे जानकारी लिनुका साथै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन भएको पनि पोखरेलले जानकारी दिए । 

आयोगले यसअगाडि पनि संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लिखित प्रावधानहरुको पालनामा संवेदनशील हुन प्रदर्शनरत पक्षहरुलाई गरेको आग्रह स्मरण गराउँदै आगामी दिनमा समेत आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन र प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकार तथा प्रदर्शनरत पक्षलाई समेत पसन आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप