आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदर्शन

दुर्गा प्रसाईं भर्सेस महेश बस्नेतको शक्ति प्रदर्शन : तीनकुने शान्त हुँदा बल्खुमा किन भयो तनाव ?

बिहीबार, ०७ मङ्सिर २०८०, १७ : ४२
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । फरक फरक उद्देश्यसहित एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान नेपालले काठमाडौँको छुट्टाछुट्टै स्थानमा बिहीबार गरेको शक्ति प्रदर्शन तनावरहित बन्न सकेन । दुवै पक्षले आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने दाबी गरेपनि यसविपरीत प्रसाईं समूहको प्रदर्शन झडपमा परिणत बन्न पुग्यो । 

प्रसाईंलाई प्रदर्शन गर्न प्रशासनले बल्खु चोकमा अनुमति दिएको थियो भने महेश बस्नेत इन्चार्ज रहेको राष्ट्रिय युवा संघलाई तीनकुने तोकिएको थियो । विपरीत दुई ध्रुवको कार्यक्रमका कारण बिहीबार उपत्यकाको यातायात प्रभावित बन्न पुग्यो भने शैक्षिक संस्था प्राय ठप्प भए ।  

दुवै पक्षले फरक–फरक मुद्दा उठाएर शक्ति प्रदर्शन गरेका हुन् । तर एक अर्काप्रति उनीहरू आक्रोशित देखिन्थे । बस्नेत नेतृत्वको समूहले तीनकुनेमा गरेको शक्ति प्रदर्शन शान्तिपूर्ण भए पनि बल्खुमा प्रसाईं समूहले गरेको प्रदर्शनमा दिनभरजसो तनावको स्थिति पैदा भयो । प्रसाईं समर्थकले कहिले प्रहरीको घेरा तोड्न खोज्ने त कहिले युवा संघको र्‍यालीसँग जम्काभेट हुँदा झडपको स्थिति उत्पन्न भएको प्रत्यक्षीदर्शी र सुरक्षाकर्मीको भनाइ थियो । झडप र अशान्ति पैदा गर्न खोजेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पानीको फोहराका साथै अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । प्रशासनले बल्खु र तीनकुने क्षेत्रमा बिहीबार बिहानैबाट उल्लेख्य मात्रामा सुरक्षाकर्मी तैनाथ राखेको थियो ।

प्रसाईं र बस्नेत समर्थकले विरोध सभाअघि उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकालेका थिए । सुरुवाती समयमा र्‍याली निकाल्दासम्म स्थिति सामान्य नै देखिन्थ्यो । प्रसाईं समर्थकले उपत्यकाका सात स्थानबाट र्‍याली निकाल्दा बस्नेत पक्षले भक्तपुरबाट मात्रै मोटरसाइकल र्‍याली निकालेर तीनकुनेमा पुग्दै विरोध सभा गरेको थियो ।

अराजकतालाई प्रसाईंको प्रोत्साहन !

विभिन्न स्थानबाट आफ्ना समर्थकहरूको र्‍याली बल्खु पुगेपछि प्रसाईंले बल्खुचोकमा केहीबेर आफ्नो मन्तव्य राखे । मन्तव्यका क्रममा सुरुमै उनले आफू मर्ने तर पछि नहट्ने घोषण गरे । प्रसाईंले कुनै सैद्धान्तिक वैचारिक सन्देश नदिए पनि हालको व्यवस्थामाथि प्रश्न उठाउँदै व्यवस्था र राज्य सञ्चालकहरूको आलोचनामा करिब १० मिनेट समय खर्चिए । त्यस क्रममा प्रसाईंले आजकै दिनबाट गणतन्त्र सकिएको एकपक्षीय घोषणा समेत गर्न भ्याए ।  

उनले भोलिदेखि सिंहदरबार र संसद् भवन कब्जा गर्न भीडलाई प्रोत्साहन गर्न पनि भ्याए । त्यतिमात्रै होइन, समग्र व्यवस्था र नेताहरूमाथि प्रसाईंले यस्तो धावा बोले कि उनका कतिपय शब्दहरू लेख्न र सुन्न समेत नसकिने किसिमका थिए । प्रसाईंले व्यवस्था र नेताहरूमाथि यसरी धावा बोल्दै गर्दा केहीबेर समर्थकले पक्षमा हुटिङसमेत गरेका थिए । शान्तिपूर्ण विरोध प्रदर्शन भनिए पनि प्रसाईंको प्रदर्शन झडप र ढुङ्गा हानाहानमा परिणत बन्न पुग्यो । जसका कारण आन्दोलन अनियन्त्रित जस्तै बन्न पुगेको थियो ।

तीनकुने शान्त

बल्खुमा प्रसाईं समूहको प्रदर्शन झडपमा परिणत हुँदा बस्नेतले नेतृत्व गरेको तीनकुनेको प्रदर्शन भने  शान्तिपूर्णरुपमा सम्पन्न भएको देखियो । एमाले निकट युवाका साथै विद्यार्थी र एमालेकै केही नेताहरू समेत सहभागी तीनकुनेको कार्यक्रममा उनीहरूले आफ्ना धारणा सामान्य रूपमै राखे । विरोध सभालाई सम्बोधन गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले आफूहरूको प्रदर्शन सरकारलाई खबरदारीका लागि भएको प्रस्ट्याए । 

उनले सुशासनको पक्षमा, अराजकता, महँगी र भ्रष्टाचारको विपक्षमा सरकारलाई खबरदारी गरिएको भन्दै लोकतान्त्रिक गणतन्त्रमाथि कसैले धावा बोले सबभन्दा पहिला एमालेले प्रतिकार गर्ने घोषण समेत गरे । साथै उनले  दुर्गा प्रसाईंका अराजक गतिविधि सह्य नहुने र प्रधानमन्त्री प्रचण्डले समेत आगामी दिनमा नेपाली जनताको भावनाविपरीत काम गरे सिंहदरबारबाट माइतीघर वा तीनकुने ल्याएर पछार्न सक्ने क्षमता रहेको उद्घोष गरे । त्यस क्रममा उनले आफ्नो कार्यक्रम सातै प्रदेशमा विस्तार गर्दै आगामी माघ फागुन महिनामा काठमाडौँमा विशाल मानव सागर उतारेर सरकारविरुद्ध दबाब सिर्जना गर्ने दाबी समेत गरे ।

आयोगको अनुगमन

यसैबिच राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँद्वारा आयोजित प्रदर्शनको अनुगमन गरेको छ । आयोगका सदस्य नेतृत्वको चार टोलीले उपत्यकाको दिनभर अनुगमन गरेको हो । अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूह बिच झडप तथा ढुङ्गा र इट्टा प्रहार भएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोज्दा झडप भएको हो भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा प्रहार गरेको ठहर गरेको छ । सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । ‘प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरुमा पठनपाठन अवरुद्ध रहेको, उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्बाध रूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र र सुरक्षित रूपमा आवतजावत गर्न नपाएको हुँदा यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगको अनुगमनबाट देखिएको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगको टोलीले बिहीबारै रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पुगेर प्रहरीका उच्चपदस्थ अधिकारीहरूसँग सुरक्षा अवस्थाबारे जानकारी समेत लिएको छ । टोलीले प्रहरी अधिकारीसँगको कुराकानीमा आगामी दिनमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन पोखरेलले जानकारी दिए । आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन र प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकार तथा प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप