सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
युवासंघ भर्सेस दुर्गा प्रसाईं आन्दोलन

दुर्गा प्रसाईं र महेश बस्नेत सडकमा : के भन्छन् कांग्रेस र रास्वपा ?

बिहीबार, ०७ मङ्सिर २०८०, १७ : ४९
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँमा आज भएको नेकपा एमाले र दुर्गा प्रसाईं समूहको विरोध प्रदर्शनबारे नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको भिन्नाभिन्नै टिप्पणी आएको छ । सत्ताको प्रमुख घटक कांग्रेसले आजको प्रदर्शनलाई ‘आश्चर्यजनक’ भन्दा विपक्षी रास्वपाले कसैको हितमा नभएको प्रतिक्रिया दिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जनताविरुद्ध प्रतिपक्ष पनि सडकमा आउनु आश्चर्यजनक भएको बताए । ‘सरकारसँग जनता असन्तुष्ट हुँदा जनताको प्रतिनिधित्व संसदीय प्रणाली भित्रैबाट विपक्षीले गर्नुपर्ने हो,’ उनी भन्छन्, ‘कहिले कहीँ प्रतिपक्षलाई पनि जनताले विश्वास नगरेर सडकमा आउँछन् । तर, जनताविरुद्ध प्रतिपक्ष पनि सडकमा आउनु आश्चर्यजनक र अचम्म लाग्दो कुरा हो ।’

यद्यपि प्रतिपक्षले सरकारको निगरानी गर्नका लागि गरिने शान्तिपूर्ण आन्दोलनहरू लोकतन्त्रमा जायज हुने विश्वकर्माको भनाइ छ । ‘त्यसलाई हामीले सामान्य रूपमा लिएका छौँ । हामी सरकारमा रहेकाले सबै आन्दोलन, विरोध प्रदर्शनलाई शान्तिपूर्ण सम्पन्न गर्न सक्ने वातावरण बनाउने जिम्मेवारी हो,’ उनी भन्छन्, ‘आज सम्पूर्ण सुरक्षाकर्मी उच्च सतर्कता, उच्च मनोबल र उच्च संयमताका साथ भूमिका निर्वाह गर्नुभएको छ ।’

विश्वकर्माका अनुसार एमाले र दुर्गा प्रसाईं समूहको प्रदर्शनका सन्दर्भमा कांग्रेसको नकरात्मक टिप्पणी केही छैन । ‘जनताले संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण ढङ्गले आफ्ना विरोधका आवाजहरूलाई सार्वजनिक रूपमा व्यक्त गर्न पाउनुपर्छ,’ उनले भने, ‘त्यसलाई हामी अभिव्यक्ति स्वतन्त्र पनि भन्छौँ । सरकारको निगरानीको रूपमा पनि बुझिन्छ ।’

यद्यपि बदनियत ढंगबाट गैरकानुनी रूपमा राखिएका कुरामा राज्य सतर्क हुनुपर्ने उनको भनाइ छ । ‘यसरी प्रदर्शन गर्नका लागि भने आपत्ति हुँदैन भन्ने हाम्रो दृष्टिकोण हो,’ उनले भने ।

यता कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले भने विश्वकर्माको भन्दा पृथक् मत राखे । ‘दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो । यो आराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्माओली हो र हुनुपर्छ,’ उनले भने ।

सत्ताको खेल र देशमा ढुकुटीमा कसरी रजगज गर्ने भन्ने प्रपञ्चमा हिजो दुर्गा प्रसाईंको पनि हिस्सा रहेको उनको आरोप छ । ‘आज पनि दुर्गा प्रसाईं प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको बराबर सम्पर्कमा छन्,’ महरले भने, ‘उनीहरूको दोहोरो उक्साहटमा दुर्गा प्रसाईंले आन्दोलन गरिरहेका छन् । यसमा राजाको पनि अप्रत्यक्ष साथ होला ।’

प्रसाईंलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रचण्ड र केपी ओलीकै साथ रहेको उनको दाबी छ । ‘केपी ओलीले यो सत्ताका खिलापमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहन्छन् । अनि प्रचण्ड दुर्गा प्रसाईंको माध्यमबाट केपी ओलीलाई तर्साउन चाहन्छन्,’ उनले भने, ‘प्रचण्ड र केपी ओलीका कमजोरीसँग दुर्गा प्रसाईं परिचित छन् । त्यसकारण प्रचण्ड र केपी ओली थ्रेटमा छन् ।’

प्रचण्ड र ओली प्रसाईंको खिलापमा जान नसक्दा अराजकताले प्रशय पाइराखेको महरको बुझाइ छ । यस्तै संसदको चौथो ठुलो दल रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले दुर्गा प्रसाईं र एमालेले गरेको दुवै प्रदर्शन देश र जनताको हितमा नभएको बताए ।

‘मुलुकमा अहिले आर्थिक संकटको बेला छ । सबै मिलेर २०७२ सालको संविधानमा उल्लेखित कुरालाई जनताको जीवनमा देखिने गरी स्थापित गराउन लाग्नुपर्ने बेला यो गतिविधिले कसैलाई फाइदा गर्दैन । आपसी भिडन्त र गाली गलोजले नमजा लागिरहेको छ,’ उनी भन्छन् ।

एउटा व्यक्ति पनि समाजप्रति जिम्मेवार बन्नुपर्ने भन्दै अराजक बन्ने छुट कसैलाई नभएको परियारको तर्क छ । ‘कुनै व्यक्ति पनि नागरिक हो । नागरिकको अधिकारसँग सँगै जिम्मेवारी र दायित्व पनि हुन्छ,’ उनले भने, ‘हाम्रो सामाजिक करार भनेकै समाजमा बस्नका लागि हामीले लिने र दिने भन्ने हो । एउटा नागरिक पनि जिम्मेवार हुनुपर्छ । राजनीतिक दल त झन् जिम्मेवार हुनुपर्छ ।’

एमाले र प्रसाई समूहको विरोध प्रदर्शनको मारमा सोझा–साझा गरी खाने मान्छे परेको उनको भनाइ छ । ‘यसले अहिलेको राजनीतिक अवस्थालाई भद्रगोल बनाउने र अराजकतातिर लाने भन्दा अरू केही गर्दैन । जनताले दुःख पाउँदा र सरकारले गरेका गलत कामको विरोध गर्ने एउटा तरिका हुन्छ,’ परियारले भने ।

उनले अगाडि भने, ‘हामीलाई जे जे म लाग्यो त्यही गर्न थाल्यौँ भने पुग्छौँ कहाँ ? संविधानवाद मानेको समाजमा यस्तो पनि हुन्छ । कुनै नीति, नियम नभएको जस्तो जसलाई जहाँ मन लाग्यो त्यही बोलेको छ । कानुनी राज्यमा यस्तो पनि हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप