मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्खाल–पर्खालमा चित्र बनाएर धनगढी चिनाइँदै

बिहीबार, ०७ मङ्सिर २०८०, २० : ११
बिहीबार, ०७ मङ्सिर २०८०

कैलाली । धनगढीलाई सुन्दर सहर बनाउने लक्ष्यका साथ नगरका सार्वजनिकस्थलका भित्ता (पर्खाल) मा स्थानीय कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्रसम्बन्धी चित्र उतार्न थालिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले भित्तामा कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यलगायत चित्र उतारेर धनगढी र खासगरी सुदूरपश्चिमलाई चिनाउने अभियान थालिएको बताए । 

धनगढी रङ्गशालाको भित्ता (पर्खाल) मा चित्र उतारेर कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्य चिनाउने यो अभियान थालिएको हो । हमालले भने, “अब धनगढीका भित्ताले सुदूरपश्चिमको कला संस्कृति र पर्यटकीय गन्तव्यका बारेमा आगन्तुकलाई जानकारी गराउनेछन् ।” 

चित्र उतारिएका पर्खालमा कुनै पोष्टर, पर्चा नटाँस्न र फोहर नगरिदिन उपमहानगरपालिकाले नगरवासीसँग आग्रह गरेको छ । उपमहानगरपालिकाले धनगढीलाई सुन्दर र हराभरा सहर बनाउनुअघि सारेको ‘हरियाली धनगढी अभियान’ अन्तर्गत यसअघि उपमहानगरका सार्वजनिक सडक तथा स्थानमा वृक्षारोपण गरिएको थियो ।

‘उज्यालो धनगढी अभियान’ अन्तर्गत उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त पहलमा नगर क्षेत्रका विभिन्न सडकमा सडक बत्ती जडानको कार्य भइरहेको छ । 

धनगढी–अत्तरिया ‘छ लेन’ सडकको उपमहानगर क्षेत्रमा पर्ने खण्डको सडकमा स्मार्ट स्ट्रिट लाइट बलिसकेको छ । उपमहानगरपालिकाको अन्य सडकमा पनि स्मार्ट स्ट्रिट लाइट, हाइ माष्ट, मिनी माष्ट लाइट बाल्ने लक्ष्य छ । सडक बत्तीको व्यवस्थासँगै रातिको समयमा धनगढीका मुख्य सहरी क्षेत्र झिलिमिली देखिने गरेको छ ।

सडक बत्तीको व्यवस्थाका लागि उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको थियो । हमालकै नेतृत्वको तत्कालीन कैलाली उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिमका सम्भावना चिनाउन ‘सुन्दर सुदूरपश्चिम अभियान’ चलाएको थियो । यस क्रममा सुदूरपश्चिमका पर्यटकीय र धार्मिक क्षेत्रका आकर्षक तस्बिर अङ्कित आकर्षक पोष्टर प्रकाशन गरी वितरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप