बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

यसपटक सम्मेलनका लागि मात्रै लगानी सम्मेलन हुँदैन : मन्त्री महत

आइतबार, १० मङ्सिर २०८०, १९ : ४८
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताएका छन् । वैशाख ९ र १० गते काठमाडौँमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको तयारीबारे आइतबार सरोकारवाला निकाय तथा व्यक्तित्वसँगको छलफलमा मन्त्री डा. महतले यस्तो बताएका हुन् । 

‘यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका छौँ,’ निर्देशक समितिको पहिलो बैठकपछि मन्त्री डा. महतले भने, ‘यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुई पक्षीय बैठक गर्ने योजना समेत बनाएका छौँ ।’

सम्मेलनमा धेरै जनालाई सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना यसपटक सरकारको रहेको मन्त्री डा. महतले बताए । 

‘सरकारले दुई पक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको छ । यसपटक सम्मेलनका लागि सम्मेलन हुँदैन । यसको उद्देश्य सक्षम लगानीकर्तासमक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने तथा लगानी प्रतिबद्धतालाई फलोअप गर्ने र रियलाइजेसन गर्ने हो ।’

लगानी सम्मेलनका लागि तयारी थालिसकिएको बताउँदै अर्थमन्त्री डा.महतले लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा नभई नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने योजना रहेको बताए । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन समेत गरिने डा.महतले बताए ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’ मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा महतले निर्देशन दिए ।

निर्देशक समितिको पहिलो बैठकमा पर्यटन मन्त्री सुधन किरातीले ऐन कानुन र काम गर्ने शैली नै बाधक भएको बताए । उनले भूराजनीतिक स्वार्थले पनि लगानी आउने र मध्यपूर्वी राष्ट्रलाई प्राथमिकतामा राख्नेमा जोड दिए ।

छलफलमा नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले विगतका लगानी सम्मेलनमा गरिएका वाचाहरू पूरा नभएको उल्लेख गरे । लगानीकर्ता नेपालभन्दा अन्य बजारतिर गएका र यसमा भारतले सुधार गरिसकेको उनले बताए । उनले सम्मेलन अगाडि नै सुधार गर्नुपर्ने र जग्गाको समस्या ठूलो भएको बताए ।

तयारीका लागि चार महिना छोटो समय भएको भन्दै उनले भने, ‘सरकारले गर्ने समन्वय लगानी बोर्डमार्फत होस्, राम्रो कन्सल्ट्यान्टलाई हायर गरेर राम्रो रिपोर्ट बनाऔं, जुन विश्वव्यापी मान्यता दिने खालको होस् ।’

नेपाल चेम्बर अफ कमर्श उपाध्यक्ष कमलेश अग्रवालले लगानी सम्मेलनको तयारीका लागि के–के गर्न सक्छौं त्यो पनि तयारी गर्न आग्रह गरे । छलफलमा उनले प्राकृतिक स्रोतलाई सदुपयोग गर्नेतर्फ पनि केन्द्रित हुन सरकारसँग माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप