सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारप्रतिको आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजियोः एमाले सचेतक

बुधबार, १३ मङ्सिर २०८०, १३ : ५१
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका छन् । 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकहरुमा निराशा र आक्रोश बढेको बताएका हुन् । जनतामा सरकारप्रति निराशा र आक्रोश भएको भन्दै उनले सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको बिरुद्धमा प्रयोग गर्न खोजिएको बताए । 

उनले आक्रोशित जनसमुदायलाई व्यवस्था बिरोधी बनाउन र शासकिय प्रवन्धहरुलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवा सपना मात्रै हुने बताए । उनले व्यवस्था र संविधानका बिरुद्धमा हुने गतिविधिहरुलाई निस्तेज पारिने पनि बताए ।

उनले भने, ‘सरकारले ठिक ढंगले डेलिभरी दिन नसक्दा, विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा सरकार स्वयं हिँड्न नसक्दा नागरिकहरुमा एक प्रकारको निराशा भयो । चरम महंगि छ । भ्रष्टाचार छ । तस्करी, कालोबजारी छ । त्यो नियन्त्रणमा आएन । जनताले प्रत्यक्ष त्यसको मार खेप्नु परेको अवस्था छ । जनताको आक्रोश भयो सरकारप्रति । जनतामा ठुलो निराशा आयो देशमा केही हुँदैन कि भन्ने नैराश्यता जनताको तहमा छ र त्यसले आक्रोश बढायो । निराशा बढायो । निराशा र आक्रोश बढेको जनतामा केही धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिहरुले सरकारको बिरुद्धमा आक्रोश हो । सरकारसँग निराशा हो । तर धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिले आक्रोशित जनसमुदायलाई व्यवस्था विरोधी अभियान र व्यवस्था प्रणालीलाई आघात पार्न विद्यमान शासकिय प्रवन्धहरुलाई कमजोर बनाउन सकिन्छ कि भनेर त्यो आग्रह त्यतातिर संगठित गर्न खोजेको हो । त्यो असम्भव छ । त्यो दिवा सपना मात्रै हो । हामी यो व्यवस्थाको विरुद्धमा, संविधानका विरुद्धमा हुने सबै गतिविधिहरुलाई निस्तेज पार्नका लागि एमाले मैदानमा उभिएर त्यस्ता प्रतिक्रियावादी शक्तिहरु, सरकारको नालायकीपन, अर्कमण्यता, कमजोरी, बेइमानीका कारणले शासकिय प्रवन्ध बिरुद्ध हुन खोजेका, धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति बिरुद्ध एमाले सशक्त ढंगबाट उभिन्छ ।’

व्यवस्था बिरोधी स्वरहरु सुनिन थाल्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ । उनले वर्तमान राजनीतिक व्यवस्था नढल्ने भएपनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको बताए । 

त्यसैगरी, नेकपा(माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले राजतन्त्र केवल कल्पना मात्रै भएको टिप्पणी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप