शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अनलाइन ठगी प्रकरण

चिट्ठादेखि पार्सलको लोभ : अनलाइनबाट ४ महिनामा ९ करोड ५४ लाख ठगी

साउनपछि मात्र ५०९ जनाले गुमाए रकम
बुधबार, १३ मङ्सिर २०८०, १८ : २६
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । फेसबुकमा ‘एलेक्स बेन्जामिन’ नामका पुरुषले कीर्ति खड्का (नाम परिवर्तन) लाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । विदेशी नागरिकको नामबाट आएको ‘रिक्वेस्ट’ उनले स्वीकार गरिन् ।

बिस्तारै कीर्ति र बेन्जामिनबिच कुरा हुन थाल्यो । टर्कीको नागरिक हुँ भनेर बेन्जामिनले कीर्तिलाई भने । आत्मीयता बढाउँदै बेन्जामिनले कीर्तिलाई आइफोन, घडी, जुत्ता, सुनका गहना र मेकअपको सामानसहितको लगेज पठाइदिने बताए । पठाउन लागेको भनिएका सामानको तस्बिर पठाउँदै उनले भने, ‘कुरियरको मान्छेले सम्पर्क गर्छ ।’

त्यसको केही दिनपछि ‘कुरियरबाट बोलेको हुँ’ भन्दै कीर्तिलाई फोन आउन थाल्यो । कुरियरबाट फोन गर्नेले उनलाई भन्यो, ‘सामान महँगो रहेछ, कस्टम चार्ज डिपोजिट गर्नुस् ।’

ती व्यक्तिले भनेबमोजिम रकम कीर्तिले डिपोजिट गर्दै गइन् । ७ लाख डिपोजिट गरेपछि बेन्जामिन सम्पर्कविहीन भए । कुरियरबाट फोन गर्नेले पनि सम्पर्क गर्न छाड्नुका साथै उनको नम्बर ब्लक गरिदिए ।

त्यसपछि कीर्ति प्रहरीकहाँ पुगिन् । प्रहरीले गरेको अनुसन्धानबाट थाहा भयो फेसबुकमा एलेक्स बेन्जामिनको नामबाट कुरा गर्ने व्यक्ति सप्तरी घर भएकी सुजता चौधरी पो रहिछन् ।

sujata

ललितपुर प्रहरीको फरार सूचीमा रहेकी सुजतालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित ईमाडोल बस्ने सुजताले अर्की महिलालाई पनि ठगेको अनुसन्धानबाट खुलेको छ । सुजताले अर्की महिलालाई पनि सामान पठाएको बहाना बनाएर कस्टम चार्ज बापत १ लाख ३५ हजार पठाउन लगाएर ठगेको एसपी रेग्मीले जानकारी दिए ।

पछिल्लो समय अनलाइन माध्यमबाट हुने ठगी बढेको छ । २०८० साउन पछिको चार महिनाको अवधिमा काठमाडौँ उपत्यकामा मात्रै ५ सय ९ जना अनलाइन माध्यमबाट ठगिएका छन् । ५०९ जनाले चार महिनामा ९ करोड ५४ लाख रकम गुमाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 online-thagi

स्रोत : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय

विद्युतीय माध्यममा चिट्ठा परेको भन्दै आउने सन्देश, पार्सल पठाएको भन्दै आइपुग्ने सूचना र ई–सेवाजस्ता ‘वित्तीय संस्थाबाट बोलेको हुँ’ भनेर ओटीपी कोड (वान टाइम कोड) माग्दै हुने ठगीका घटना दैनिक बढेका छन् ।

त्यस्ता ठगी बढेपछि प्रहरीले अनलाइन माध्यमबाट कारोबार गर्दा ‘सचेतता अपनाउन’ सूचना जारी गरेको छ । प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलाप सम्बन्धी गुनासाहरु बढिरहेको हुँदा सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेर कारोबार गर्नुहुन अनुरोध छ ।’

Online Thagi SUCHANA 8.13 (2080)

त्यसरी सामान डेलिभरी नगरेर विक्रेता सम्पर्कविहीन भएमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।

मंसिर १० मा काठमाडौँबाट ३४ वर्षीय कमला मिश्र पक्राउ परिन् । पाँचथर घर भएकी मिश्रले ‘युकेको नागरिक हुँ’ भनेर सर्वसाधारणलाई विश्वासमा लिएर ठग्ने गरेकी थिइन् । आइफोन, कपडा र ब्याग तथा डलर पठाउँछु भनेर उनले ‘कस्टम चार्ज’ बापत रकम लिएर सम्पर्कविहीन हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

मिश्रलाई साइबर ब्यूरोले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । उनले ३ लाख ३० हजार ठगेको अनुसन्धानबाट थाहा भएको साइबर ब्यूरोका एसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए ।

अनलाइन माध्यमबाट दैनिक ठगीका घटना बढ्नुमा ‘लोभ’ मुख्य कारण भएको बताउँछन् उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौर । सस्तो मूल्यमा आइफोन र अन्य बहुमूल्य सामान पाउने ‘अनलाइन विज्ञापन’मा पैसा भएकाहरू पनि लोभिने गरेका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक राठौर भन्छन्, ‘लोभको कारण अनलाइन माध्यमबाट मानिसहरू दैनिक ठगिएका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप